स्याङ्जा, २७ भदौ ।
राष्ट्रिय बाल दिवसको अवसरमा एकीकृत सेवा कार्यालय स्याङ्जाले आयोजना गरेको जिल्ला स्तरीय कविता प्रतियोगितामा आँधीखोला गाउँपालिका स्थित प्रधुम्न पनेरुकी बिपसा विक प्रथम भएकी छन्।
‘बाल अधिकार, हाम्रो आवाज, हाम्रो भविष्य’ भन्ने नाराका साथ आयोजित प्रतियोगितामा गल्याङ नगरपालिका स्थित रामनदीधाम संस्कृति गुरुकुलमका सुरज रेग्मी द्वितीय, भीरकोट नगरपालिका स्थित दहथुम माध्यमिक विद्यालयकी आयुष्मा ढुंगाना तृतीय तथा चापाकोट नगरपालिका स्थित वैडी माध्यमिक विद्यालयकी आरती बस्याल सान्त्वना भएकी छन्।
विजयी विद्यार्थीलाई प्रमुख अतिथि पुतलीबजार प्रज्ञा प्रतिष्ठानका उपकुलपति दुर्गाबहादुर शाह ‘बाबा’, एकीकृत सेवा कार्यालय स्याङ्जाका प्रमुख निराजन शर्मा र स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष महादेव श्रेष्ठले पुरस्कार तथा नगद प्रदान गरेका थिए।
पुरस्कार वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाहले बालबालिकामा रहेका प्रतिभा र क्षमता प्रस्फुटनका लागि यस्ता रचनात्मक कार्यक्रम प्रभावकारी हुने बताए। उनले बालबालिकाको हित र प्रतिभा विकासलाई केन्द्रमा राखेर सञ्चालन गरिएका सिर्जनात्मक कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिनुपर्नेमा जोड दिए।
प्रतियोगिताको मूल्यांकन समितिका संयोजक मिलन समीरका अनुसार प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यार्थीले क्रमशः ५ हजार, ४ हजार, ३ हजार र २ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्। प्रतियोगितामा सहभागी सबै विद्यार्थीलाई समेत प्रोत्साहनस्वरूप नगद प्रदान गरिएको थियो।
कार्यक्रममा प्रतिष्ठानका सदस्य हिमलाल पुरी, उद्योग वाणिज्य संघका अध्यक्ष महादेव श्रेष्ठ, पत्रकार भवानी अधिकारी, मूल्यांकन समितिका संयोजक मिलन समीर तथा सदस्य पारिश्वर न्यौपानेले बाल दिवसको शुभकामना व्यक्त गर्दै बालप्रतिभाको कदर र सम्मान गर्नुपर्ने धारणा राखेका थिए।
एकीकृत सेवा कार्यालय स्याङ्जाका प्रमुख निराजन शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रम अधिकृत पार्वती भट्टले स्वागत मन्तव्य र जिल्ला बाल क्लब सञ्जालकी अध्यक्ष सुजता पौडेलले कार्यक्रम सञ्चालन गरेकी थिइन्।
प्रतियोगितामा जिल्लाका नौ स्थानीय तहबाट एक–एक जना गरी नौ जना विद्यार्थी सहभागी भएका थिए।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


स्याङ्जा, २७ भदौ ।राष्ट्रिय बाल दिवसको अवसरमा एकीकृत सेवा कार्यालय स्याङ्जाले आयोजना…





