कास्कीको माछापुच्छ्रे गाउँपालिकामा रहेको मर्दी हिमालको सफल आरोहण गर्ने युवाहरु सम्मानित भएका छन् ।
पाँच हजार ५८७ मिटर उचाइको सो हिमाल आरोहण गरेका माछापुच्छे्र गाउँपालिकासहित म्याग्दी र गोरखाका युवालाई घाचोक–माछापुच्छ्रे–पोखरा सम्पर्क समाजले शनिबार सम्मान गरेको हो। माछापुच्छ्रे गाउँपालिका–१ का नारायण गुरुङ, नवीन गुरुङ, रामबहादुर परियार, किसान थापामगर र अर्जुन विक, वडा नं. ३ का क्षेत्रबहादुर गुरुङ र सुदीप तामाङ तथा म्याग्दीका खिम पाइजा र गोरखाका मनुमान गुरुङलाई समाजका अध्यक्ष तोयनाथ बैरागी लम्साल, सल्लाहकार मिनराज लम्साललगायतले सम्मान गरे । कार्यक्रममा स्थानीय युवाबाट मर्दी हिमालको सफल आरोहण हुनु यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण उपलब्धि भएको समाजले जनाएको छ । यसले मर्दी हिमालको थप प्रचारप्रसार हुनुका साथै समग्र माछापुच्छ्रे क्षेत्रको पर्यटन विकास र समृद्धिमा योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ ।
आरोही क्षेत्रबहादुर गुरुङले मर्दी हिमाल आरोहणका क्रममा सुरुआती चरणमा कठिनाइ भए पनि चुचुरोमा पुगेपछि छुट्टै आनन्दको अनुभूति हुने बताए । उनले मर्दी हिमाललाई हिमाल आरोहणको प्रशिक्षण केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावना औँल्याए । “एभरेष्ट, अन्नपूर्णलगायत सात हजार मिटरभन्दा बढी उचाइका हिमाल चढ्नुअघि मर्दी हिमालमा तालिम गरेर जाँदा आरोहण सहज हुन्छ। मर्दी चढेपछि अर्को हिमाल चढ्न धेरै नै सहज हुने भएकाले यसलाई ट्रेनिङ सेन्टरका रूपमा विकास गर्न सकेमा धेरै पर्यटक भित्र्याउन सकिन्छ”, उनले भने । घाचोक–माछापुच्छ्रे–पोखरा सम्पर्क समाजका अध्यक्ष तोयनाथ बैरागी लम्सालले स्वस्थ रूपमा सफल आरोहण गरेर फर्कनु आफैँमा महत्वपूर्ण उपलब्धि भएको बताए । उनले मर्दी आरोहणबाट प्राप्त साहस र अनुभवले आरोहीलाई आगामी दिनमा अझ अग्ला हिमाल आरोहण गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा पृथ्वीनारायण क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका सभापति विष्णु पोखरेल, समाजका उपाध्यक्ष चन्द्राज्यू ठकुरी, सचिव जगत गुरुङ तथा सदस्य दुर्गाबहादुर गुरुङ लगायतले हिमाल आरोहण चुनौतीपूर्ण कार्य भए पनि माछापुच्छ्रे गाउँपालिकाको काखमा रहेको मर्दी हिमाल स्थानीय युवाले सफलतापूर्वक आरोहण गर्नु गौरवको विषय भएको बताएका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, २९ भदौ । भोटेकोशी बाढीपीडित तथा प्रभावितका लागि तमु धिं नेपालले…





