बाढी प्रभावितको सहयोगार्थ ‘मिडिया कप फुटसल’को तयारी पूरा


     एभरेस्ट आवाज    
     भाद्र २८ गते २०८३ मा प्रकाशित




पोखरा, भदौ २८

कल्प मिडिया एण्ड मल्टिपर्पोज प्रालिअन्तर्गत नयाँलिपि न्यूज डटकमको आयोजनामा असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता-२०८३’ को तयारी अन्तिम चरणमा पुगेको छ । आयोजकले आईतबार पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराउँदै सो प्रतियोगिताबाट प्राप्त सबै मुनाफा बाढी प्रभावितका लागि सहयोग गर्ने घोषणा गरेको हो ।

पोखरा रंगशालास्थित बहुउद्देश्यीय खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताका लागि टिम दर्ताको काम भइरहेको आयोजक मिडियाका अध्यक्ष सुरज श्रेष्ठले जानकारी दिए । ’प्रतियोगिता प्रदेशस्तरीय भए पनि खेलकुद पत्रकारबीचको सम्बन्ध विस्तार र प्रतियोगिताको दायरा फराकिलो बनाउने उद्देश्यले खुला खेलको अवधारणामा सञ्चालन गरिनेछ’, श्रेष्ठले भने ।

नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल, नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकी प्रदेश अध्यक्ष एमबी आस्था र जिल्ला खेलकुद विकास समिति, कास्की अध्यक्ष मिलन गुरुङले प्रतियोगिता सफलताको शुभकामना व्यक्त गरेका छन् ।
प्रेस मिटमा दिइएको जानकारी अनुसार सूचना विभागको परिचयपत्र भएका तथा नेपाल पत्रकार महासंघ वा नेपाल खेलकुद पत्रकार मञ्चमा आबद्ध जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् ।

प्रतियोगितामा सहभागी खेलाडीको खेल अवधिभर बीमासमेत गरिने बताउँदै अध्यक्ष श्रेष्ठले सहभागी टोलीलाई बीमाको प्रक्रिया पूरा गर्न आवश्यक खेलाडी विवरण यथाशीघ्र उपलब्ध गराउन आग्रह गरेका छन् ।

प्रतियोगिताको टिम दर्ता शुल्क ३ हजार रुपैयाँ तोकिएको छ । प्रतियोगिताको विजेता टोलीले नगद ५० हजार रुपैयाँ, शिल्ड, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ । दोस्रो हुने टोलीले नगद ३० हजार रुपैयाँ, शिल्ड, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन ।

व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट प्रशिक्षकलाई जनही ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । त्यस्तै, प्रत्येक खेलमा म्यान अफ दि म्याच पुरस्कार नगद १ हजार ५ सय रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितालाई सफल बनाउन विभिन्न संघ–संस्था तथा व्यवसायिक प्रतिष्ठानले समेत सहकार्य गरेका छन् । प्रतियोगिताको प्रायोजक पोखरा महानगरपालिका वडा नम्बर १२ र कफीे डि हिमालयज रहेका छन् । त्यस्तै, सहयोगी संस्थाका रूपमा प्रदेश खेलकुद परिषद् गण्डकी, जिल्ला खेलकुद विकास समिति – कास्की, पोखरा महानगरपालिका खेलकुद विकास समिति र पोखरा महानगरपालिका – वडा नम्बर ३ रहेका छन् ।

प्रतियोगिताको प्रवद्र्धकका रूपमा परिचय एडभर्टाइजिङ् र लिड्स इभेन्ट्स रहेका छन् भने एडभेन्चर पार्टनरका रूपमा गो बन्जी र प्रिन्टिंग पार्टनरमा पीएम सोलुसन रहेको छ ।
प्रतियोगिताको मेडिकल पार्टनरका रूपमा गण्डकी मेडिकल कलेज तथा हस्पिटालिटी पार्टनरका रूपमा चाइनिज गार्डेन रेष्टुरेन्ट एण्ड बार रहेको आयोजकले जनाएको छ । त्यस्तै, प्रेस मिटको भेन्यू पार्टनरमा सफल ब्यान्केट, अमरसिंहचोकको साथ रहेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।