दीप हाउजिङका तमु परिवारबाट भोटेकोशी बाढीपीडितलाई ३ लाख ४२ हजार राहत


     एभरेस्ट आवाज    
     भाद्र २९ गते २०८३ मा प्रकाशित




पोखरा, २९ भदौ । भोटेकोशी बाढीपीडित तथा प्रभावितका लागि तमु धिं नेपालले सञ्चालन गरेको राहत संकलन अभियानमा पोखरा–१६ दीप हाउजिङका तमु परिवारले ३ लाख ४२ हजार ५५ रुपैयाँ सहयोग गरेका छन्।
मुलुकमा विपद् पर्दा एकमुष्ट राहत सहयोग गर्ने तमु धिं नेपालको अभियानमा साथ दिँदै दीप हाउजिङ समाज तमु परिवारले उक्त रकम हस्तान्तरण गरेको हो। दीप हाउजिङ व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका वरिष्ठ समाजसेवी मेजर हितमान गुरुङको नेतृत्वमा संकलित रकम तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङलाई हस्तान्तरण गरिएको हो।
राहत रकम हस्तान्तरण गर्दै मेजर गुरुङले भोटेकोशी बाढीका कारण विपद् परेका बेला तमु समुदायको मातृ संस्था तमु धिं नेपालले उदाहरणीय अभियान सञ्चालन गरेकाले दीप हाउजिङमा बसोबास गर्ने ४० तमु परिवारले सानो सहयोगसहित हातेमालो गरेको बताए।
राहत रकम संकलनमा दीप हाउजिङका सचिव क्याप्टेन मिनजङ्ग गुरुङले विशेष भूमिका खेलेको भन्दै उनले धन्यवाद दिए। आगामी दिनमा तमु धिं नेपालसँग अझ निकट रहेर अघि बढ्ने पनि मेजर गुरुङले बताए।
राहत रकम ग्रहण गर्दै तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले दीप हाउजिङमा बसोबास गर्ने सम्पूर्ण सहयोगी तमु परिवारलाई धन्यवाद दिए। विपद्का बेला संस्था र नागरिकले पनि सहयोग गर्नुपर्ने दायित्वलाई आत्मसात गर्दै तमु धिं नेपालले संकलित एकमुष्ट राहत रकम छिट्टै सबै सहयोगीको विवरणसहित हस्तान्तरण गर्ने बताए।
दुःख र सुख दुवैमा तमु धिं नेपाल समुदायसँगै रहने प्रतिबद्धता पनि उनले व्यक्त गरे।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।