प्रदेश उद्योग वाणिज्य संघ गण्डकीको उदाहरणीय कार्य : शवगृहको अभाव झेलिरहेको पोखराका अस्पताललाई पोर्टेवल शवगृह मर्चरी प्रदान


     एभरेस्ट आवाज    
     भाद्र ३१ गते २०८३ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, भदौ ३१

गण्डकी प्रदेशको राजधानी पोखराले शवगृहको अभाव झेलिरहेको छ । जसको परिणाम स्वरुप कुनै दैवी विपत्ती आईपर्दा शव व्यवस्थापनमा सकस हुँदै आएको छ । केहि दिन अगाडि भोटेकोशी बाढीका कारण मृत्यु भएकाहरुको शव व्यवस्थापन गर्न असहज भएको थियो । पोखरामा ८ वटा अस्पतालमा ८८ वटा शव अटाउने क्षमताको शवगृहहरु छन् । तर बाढीमा मृत्यु भएका १०२ वटा शव पोखरा ल्याइएपछि त्यसको व्यवस्थापन गर्न चुनौतिपूर्ण बन्यो । जसका कारण पोखरा–१६ जौबारीस्थित सिंचाईको स्वामित्वमा रहेको गाँडतरामा शव जमिनमुनि व्यवस्थापन गर्नु परेको थियो ।

पोखरामा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल एक्लैको ७२ वटा शव अटाउने शवगृह छ । त्यसबाहेक मणिपाल शिक्षण अस्पतालमा ८ वटा, चरक हस्पिटल, फिस्टेल हस्पिटल, गण्डकी मेडिकल कलेज (जिएमसी), फेवासिटी हस्पिटलमा २÷२ वटा शव अटाउने शवगृह रहेको जिल्ला प्रशासन कार्यालय कास्कीका सूचना अधिकारी तथा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । यी शवगृह सामान्य अवस्थामा पर्याप्त भए पनि दैवी, प्रकोप वा विपत्तीका बेला भने अपर्याप्त हुने गरेको उनको भनाई छ । ‘अरुबेला यो संख्या नै पर्याप्त हो, तर यस्तो विपत्तीका बेला भने व्यवस्थापन गर्न अपुग हुँदो रहेछ ।’

तर अब भने पोखरामा शव व्यवस्थापन थप सहज हुने भएको छ । शवगृहको अभाव झेलिरहेको पोखरालाई जिल्ला प्रशासन कार्यालय कास्कीको समन्वयमा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश समितिले सामुहिक रुपमा शव राख्न मिल्ने मर्चरी हाउस उपहार दिएको छ । भोटेकोशी बाढीका कारण मृत्यु भएकाहरुको शव व्यवस्थापनमा सकस परेको थाहा पाएपछि संघले उद्योगी, व्यवसायीसँगको सहकार्यमा मर्चरी हाउस बनाएर पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई हस्तान्तरण गरेको हो ।

२८ वटा शव राख्न मिल्ने सो मर्चरी कन्टेनरलाई मोडिफाईड गरेर बनाइएको संघका उपाध्यक्ष सूर्य भुजेलले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय कास्कीले उपलब्ध गराएको सो कन्टेनरमा बक्स फिट गरेर फ्रिजिङ गर्न मिल्नेगरी शवगृह बनाइएको उनको भनाई छ । यो पोर्टेवल मर्चरी हाउस हो,उनले भने,‘यसलाई आवश्यक्ता अनुसार गण्डकी प्रदेशका जुनसुकै अस्पतालमा लगेर पनि राख्न सकिन्छ ।’

यो मर्चरी पोखरामा रहेका शवगृहहरु मध्यको सबैभन्दा आधुनिक भएको दाबी गरिएको छ । पोखरामा अस्पतालहरुमा रहेका शवगृहहरु २ देखि ६ डिग्री सेल्सियससम्मका छन् तर यो मर्चरी हाउसमा माइनस १७ डिग्री सेल्सियसमा शवहरु राख्न मिल्ने उपाध्यक्ष भुजेलले दाबी गरे ।

भविष्यमा कुनै विपत्ती आईपर्दा शवगृहको अभाव नहोस् भन्नका लागि आफूहरुले शव व्यवस्थापन गर्ने मर्चरी हाउस बनाएर हस्तान्तरण गरेको उपाध्यक्ष भुजेलले बताए । कसैकसैले भोटेकोशी बाढीमा ज्यान गुमाउनेका शव जमिनमा व्यवस्थापन गरिसकिएकाले अब मर्चरी हाउस दिएर काम छैन पनि भने,उनले अगाडि थपे,‘तर अहिलेको संकट टर्दैमा भविष्यमा आवश्यक नपर्ने भन्ने हुँदैन, त्यसैले भविष्यमा काम लागोस् भनेर उद्योगी व्यवसायीहरुसँग हातेमालो गरेर बनाएको मर्चरी हाउस प्रदान गरेका हौं ।’

मर्चरी हाउस ग्रहण गर्दै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका फरेन्सिक डिपार्टमेन्ट प्रमुख डा.मदन बरालले नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशले प्रदान गरेको शवराख्ने मर्चरी हाउस अस्पतालका लागि उपयोगी रहेको बताए । माइनस डिग्रीमा शव राख्न मिल्ने भएकाले बेवारिसे तथा धेरै लामो समयसम्म राख्नुपर्ने शव राख्न यो मर्चरी हाउस उपयुक्त हुन्छ,उनले भने,‘अहिले पनि त्यस्ता बेवारिसे शवहरु हामीसँग छन्, ती शवहरु राख्छौं र पोष्टमार्टम गर्नुपर्ने शवहरु माइनसमा राख्न नमिल्ने भएकाले हामीसँग पहिल्यै भएका शवगृहहरुमा राख्ने व्यवस्था गर्छौं ।’

कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले भोटेकोशी बाढीमा परेर मृत्युभएका शवहरुको व्यवस्थापनमा परेको सकसले पोखरामा वैकल्पिक शवगृहको महशुष गराएको बताए । त्यहि परिस्थिति नदोहोरियोस् भनेर मर्चरी हाउस प्राप्त भएको बताउँदै उनले भने,‘अब पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले यसको राम्रोसँग सदूपयोग गरोस् ।’ उनले मर्चरी हाउसका लागि सहयोग गर्ने सबैलाई धन्यवादसमेत दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।