तीन दिनपछि खुल्यो बेँसीसहर–चामे सडक


     एभरेस्ट आवाज    
     असाेज २ गते २०८३ मा प्रकाशित




पहिरोले बुधबार बिहानदेखि अवरुद्ध बनाएको बेँसीसहर–चामे सडक तीन दिनपछि सञ्चालनमा आएको छ ।

यस सडकअन्तर्गत मनाङको नासोँ गाउँपालिका–३ खोत्रेमा गएको पहिरो नेपाली सेनाले बम विस्फोट गराएर ढुङ्गा तथा पहिरो हटाएसँगै आज बिहानदेखि सडक सञ्चालनमा आएको डुम्रे–बेँसीसहर–चामे सडक आयोजनाका सूचना अधिकारी नवीन विष्टले जानकारी दिए । उनका अनुसार खोत्रेमा पहिरोसँगै ठूलाठूला ढुङ्गा खसेका थिए । तीमध्ये एउटा ढुङ्गा निकै ठूलो थियो । सडक अवरुद्ध भएपछि उक्त ढुङ्गा हटाउन बिहीबार पनि बम विस्फोट गराइएको थियो । पहिलो पटकको विस्फोटबाट ढुङ्गा पूर्ण रूपमा नफुटेपछि आज पुनः विस्फोट गराई ढुङ्गा फुटाएर पहिरो पन्छाइएको उनले बताए ।

सडक खुलेसँगै साना सवारीसाधन सञ्चालनमा आएका छन् । सडक सञ्चालनमा आएपछि मनाङतर्फ आवतजावत गर्ने यात्रुलाई सहज भएको छ । ठूला सवारीसाधन सञ्चालनमा ल्याउन भने अझै केही समय लाग्ने सूचना अधिकारी विष्टले बताए । करिब ६५ किलोमिटर लामो बेँसीसहर–चामे सडक मनाङलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने मुख्य मार्ग हो । मनाङवासीको आवतजावतसँगै दैनिक उपभोग्य वस्तु तथा निर्माण सामग्रीको ढुवानी र पर्यटकीय आवागमनका लागि यो सडक महत्वपूर्ण मानिन्छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।