पोखरामा प्रभातफेरीसहित संविधान दिवस मनाईयो,संघीयता कार्यान्वयनमा संघ सरकारले सहजीकरण नगरेको मुख्यमन्त्री पाण्डेको गुनासो


     एभरेस्ट आवाज    
     असाेज ३ गते २०८३ मा प्रकाशित




संविधान दिवस, २०८३ को अवसरमा गण्डकी प्रदेश सरकारको आयोजनामा पोखरामा संविधान विशेष समारोह सम्पन्न भएको छ ।

दिवसका अवसरमा पोखराको शहीदचोकमा शहीदहरूको स्मृतिमा माल्यार्पणसमेत गरिएको छ ।विशेष कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानले परिकल्पना गरेको संघीयता कार्यान्वयनमा संघ सरकारबाट पर्याप्त सहजीकरण हुन नसकेको गुनासो गरेका छन् । प्रदेशले निर्माण गरेका कानुन कार्यान्वयन गर्न र संविधानले प्रदेशलाई दिएका अधिकार प्रयोग गर्न संघ सरकारसँग पटक–पटक आग्रह गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । उनले वित्तीय संघीयता र कानुन निर्माणको अवस्था अझै कमजोर रहेको पनि बताए ।

संघीयता कार्यान्वयनमा देखिएको कमजोरीले संघीय व्यवस्थामाथि प्रश्न उठाउनेहरूलाई बल पुगेको उनको भनाइ छ ।

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले संविधान दिवस राष्ट्रिय एकता, लोकतान्त्रिक मूल्य–मान्यता र जनताको अधिकारप्रतिको प्रतिबद्धता अभिव्यक्त गर्ने महत्वपूर्ण अवसर भएको बताए । उनले संविधानको मर्मअनुसार सुशासन, सामाजिक न्याय र नागरिकमैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै समृद्ध समाज निर्माणमा सबै तहका सरकार र नागरिकको साझा भूमिका रहने उल्लेख गरे । संविधान दिवस, २०८३ को अवसरमा अन्तर्राष्ट्रिय झण्डा पार्कमा विशेष कार्यक्रम आयोजना गरी झण्डोत्तोलन गरिएको छ ।

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले झण्डोत्तोलन गरेका हुन् । नेपालको संविधानले सुनिश्चित गरेका लोकतान्त्रिक मूल्य, नागरिक अधिकार, समावेशिता र संघीय शासन व्यवस्थाको स्मरण गर्दै आयोजित कार्यक्रममा महानगरपालिकाका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, कर्मचारी तथा अन्य सहभागीहरूको उपस्थिति रहेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।