सन्देश श्रेष्ठ
पोखरा, असोज ६
हालका पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्य गत स्थानिय तहको निर्वाचनमा उम्मेदवार भएर गाउँगाउँ र चोकचोकमा उभिएर चुनावी भाषण गर्थे, ‘पोखराका सडक भत्किएको चौविस घण्टा भित्रमा पुर्छु ।’ उनले यो कुरा उनले चुनावी घोषणा पत्रमा पनि लिपीबद्ध गरेका थिए । निर्वाचित भएलगत्तै पनि उनले प्रतिबद्धता दोहो¥याए ः ‘सडक भत्किएको चौविस घण्टा भित्रमा पुरिन्छ, र त्यसका लागि छुट्टै संयन्त्र बनाईन्छ ।’
तर चुनाव जितेर मेयर भएको करीब साढे चार वर्ष बित्यो । तर अहिले नत उनले भनेजस्तो २४ घण्टामा सडक पुरिन्छ, नत सडक पुर्नका लागि छुट्टै संयन्त्र नै बनाइएको छ । बरु उनले गरेको प्रतिबद्धता विपरित पोखराका अधिकांश सडकमा खाल्डाखुल्डी देखिन्छन् । महिनौं दिनसम्म खाल्डाखुल्डी यथावत रहँदा स्थानियले दुःख पाएका छन् । कयौं व्यक्ति दुर्घटनामा परेका छन् भने यसले ज्यान नै जोखिममा पनि पर्ने गरेको छ ।
पोखरा–५ पस्र्याङदेखि पोखरा–४ गोपालजी मन्दिरसम्मको बाटो होस् वा पोखराको मुख्य क्षेत्रमध्यकै एक सृजनाचोकदेखि सिद्धार्थचोकसम्मको बाटो जिर्ण भएर हिंडिसाध्य छैन । अझ झन् पृथ्वी राजमार्गको वैकल्पिक बाटोको रुपमा लिइएको पोखरा–१३ मियापाटनदेखि पोखरा–१४ बिजयपुर निस्किने बाटो जिर्ण भएको त वर्षौं भएको छ । जुन सडक पिचभन्दा खाल्डाखुल्डी बढी भएर पाँच वर्षदेखि हैरानी खेप्नुपरेको स्थानिय खगेन्द्र अर्याल बताउँछन् । भन्छन्,‘महानगरको क्षेत्राधिकारमा पर्ने यो बाटो सडक विभागको हो भन्दै महानगर पन्छिँदा वर्षौंसम्म दुःख पाईयो ।’
अरु त अरु प्रशासनिक कार्यालय र मन्त्रालयको बाहुल्यता रहेको सहिदचोकदेखि भूमि प्रशासन कार्यालयसम्मको बाटो पनि जिर्ण भएको महिनौं भयो । जिल्ला प्रशासन कार्यालयसँगै जोडिएर जाने यो बाटोमा जिल्ला समन्वय समिति (जिसस), गण्डकी प्रदेशको आर्थिक मामिला मन्त्रालय, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयदेखि सहकारी डिभिजन कार्यालय, हुलाक निर्देशनालय, भूमि प्रशासन कार्यालयहुँदै लेकसाईड निस्किने यो बाटोमा पिच सडकभन्दा बढी खाल्डाखुल्डी छन् । हिउँदमा धुलाम्मे र बर्खामा जलमग्न यो सडकमा दुर्घटना नभएको दिन कमै होला । तर यो सडक बनाउन महानगरले चासो देखाएको छैन ।
सडकमा हिंड्नै नसक्ने अवस्था आएपछि स्थानिय महानगरलाई गाली गर्न थालेका छन् । मेयर आचार्यले सडक २४ घण्टामै पुर्छ भन्ने प्रतिबद्धता बिर्सिएकोमा उनीहरुको आक्रोष छ । यसलाई देखाएर मिस्टर म्यान उपनाम गरेका एक व्यक्ति अहिले सडक पुर्दै हिंड्न थालेका छन् । भत्किएको सडकमा माटो हालेर पुर्दै हिंड्ने उनी अहिले सामाजिक सञ्जालमा भाइरल छन् ।
नागरिक समाज पोखराका संस्थापक अध्यक्ष रामबहादुर पौडेल महानगर जवाफदेहि नबन्दा सकड जिर्ण बनेको र त्यहि कारण दुर्घटनाको जोखिम बढेको बताउँछन् । आफ्नो चुनावी प्रतिबद्धता मेयरले बिर्सिए,उनले भने,‘अहिले आफ्नै प्रतिबद्धता विपरित सडकलाई दोष देखाएर मेयर पानीमाथिको ओभानो बन्न खोज्दैछन् ।’ जिर्ण सडक मर्मतसम्भार नहुनुमा सडक विभागसँगै महानगर पनि उत्तिकै दोषी रहेको उनको टिप्पणी छ । सडकलाई देखाएर उम्किन मिल्दैन,उनले थपे,‘महानगरलाई जवाफदेही र उत्तरदायी बनाउने हो । खाल्डाखुल्डी पुर्न महानगर एक्सनमा जानु प¥यो ।’
मेयर आचार्य भने खाल्डाखुल्डी पुर्ने काम भइरहेको दाबी गर्छन् । हिजो पनि भइरहेकै थियो,उनले थपे,‘आज पनि ठेक्कामा गएर पुर्ने काम भइरहेकै छ ।’ तर पोखरा धेरै पानी पर्ने ठाउँ भएकाले आज पु¥यो, भोलि उस्तै त के गर्नू ? उनको तर्क छ । आफैले गरेको प्रतिबद्धता अनुसार भत्किएका सडक २४ घण्टामा नपुरिनुमा सडक विभाग पनि दोषी रहेको उनले बताए । खोज्दैखोज्दै जाने हो भने सडक कसको क्षेत्राधिकार भित्र छ भन्ने पनि छ,उनले भने,‘पोखराका सिंगो सडक क्षेत्र सडक विभागको हो, त्यहाँ हामीले केहि गर्न पनि मिल्दैन । यसमा हाम्रा पीडाहरु पनि छन् ।’ त्यसैले सडक पुर्ने काम महानगरको नभई सडक विभागको भएको उनको जिकीर छ । भत्किएको सडकमा माटो ल्याएर हालेकोप्रति उनले खिसिट्यूरी गरे । त्यसरी पुर्दा हुने भए त हामी आरएमसी ल्याएर चार घण्टामै भत्किएका सडक पुरिदिन्थ्यौं,उनले अगाडि भने,‘त्यो हामीले नजानेर र नसकेर हो र ? तर त्यसरी पुर्दा चिप्लिएर एक्सिडेन्ट हुन्छ, विज्ञ त्यहि भन्नुहुन्छ, ईञ्जिनियर त्यहि भन्नुहुन्छ ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, असौज ६ । अल्जाईमर रोग कुनै जुनीको पाप होईन, यो सरुवा…






