कालिका बहुमुखी क्याम्पसमा छात्राका लागि आत्मरक्षा प्रशिक्षण


     एभरेस्ट आवाज    
     असाेज ६ गते २०८३ मा प्रकाशित




पोखरा । पोखरा–१४ काजीपोखरीस्थित कालिका बहुमुखी क्याम्पसमा छात्राहरूका लागि ‘आत्मरक्षा’ सम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
पठनपाठनसँगै छात्राहरूलाई आत्मरक्षामा अब्बल बनाउने उद्देश्यले आयोजित कार्यशालामा जोष्टा क्लबअन्तर्गत गोल्डेन जी क्लब अफ अन्नपूर्ण र इम्प्याक्ट टेकवान्डो डोजाङबाट आएका प्रशिक्षक निरोजबहादुर नेपालीले प्रशिक्षण दिए।
प्रशिक्षक नेपालीले छात्राहरूमा मानसिक अवस्था, छात्राले भोग्ने तनाव तथा समाजमा देखा पर्ने यौनजन्य दुव्र्यवहारले शिक्षण सिकाइमा पार्ने असरका विषयमा प्रकाश पारे।
प्रमुख अतिथि तथा क्याम्पस प्रमुख प्रा. बिर्नजी गौतमले प्रभावकारी पठनपाठनका लागि विद्यार्थी स्वयं आफ्नो मानसिक र शारीरिक रूपमा स्वस्थ र सचेत हुन आवश्यक रहेको बताए। विद्यार्थी आफ्नो सुरक्षाप्रति सचेत रहेमा त्यसले क्याम्पस र समाजलाई अनुकूल प्रभाव पार्ने उनले बताए।
जेष्टा क्लब पोखरा र गोल्डेन जी क्लब अफ अन्नपूर्णले क्याम्पसलाई विभिन्न समयमा विद्यार्थी केन्द्रित कार्यक्रम तथा छात्रवृत्तिलगायत विविध क्रियाकलापमा सहयोग पुर्‍याएकोमा उनले धन्यवाद दिए।
इम्प्याक्ट टेकवान्डो डोजाङका प्रशिक्षकबाट क्याम्पस सभाहलमा आत्मसुरक्षासम्बन्धी विभिन्न अभ्यास गराइएको थियो।
आत्मरक्षा सम्बन्धी प्रशिक्षणबाट प्राप्त ज्ञानले विद्यार्थीहरूमा आत्मविश्वास बढ्ने कार्यक्रम संयोजक तथा शिक्षिका साजुजा थापाले बताइन्।
क्याम्पसका सहायक क्याम्पस प्रमुख युवराज गुरुङ र शालिकराम तिमिल्सिनाले प्रशिक्षणबाट प्राप्त सीपलाई व्यवहारमा लागू गर्ने र आफ्ना साथीहरूलाई पनि यसबारे सचेत गराउनुपर्ने बताए।
गोल्डेन जी क्लबका अध्यक्ष आकाश विकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जोष्टा क्लबका अध्यक्ष नीरज केसीले उपस्थित सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन भएको बताए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।