सन्देश श्रेष्ठ
पोखरा, असोज ९
नेपालीको महान चाँड बडादशैंको सन्दर्भ पारेर पोखराको लेकसाईडमा ‘दशैं पर्यटन तथा सांस्कृतिक महोत्सव’ आयोजना हुने भएको छ । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) को आयोजना तथा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवद्र्धनमा पोखरा–६ लेकसाईडस्थित वाराही खेल मैदानमा बडादशैंको अन्तिम दिन कोजाग्रत पूर्णिमाको दिन कात्तिक ८ गते महोत्सव आयोजना गर्न लागिएको शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो ।
‘टीका, जमरा र चङ्गा चेटः पोखरामा पर्यटकसँग दशैँ भेट’ भन्ने मूल नाराका साथ हुने महोत्सवमा सहभागी पर्यटकलाई दशैंको टिका र जमरासमेत लगाईदिने आयोजक ओटेफकी अध्यक्ष ममता न्यौपानेले जानकारी दिईन् । उनका अनुसार महोत्सवमा बडादशैंको महत्वबारे पर्यटकलाई जानकारी गराईनेछ ।
महोत्सवको मुख्य आकर्षणका रुपमा चंगा चेट प्रतियोगिता रहने अध्यक्ष न्यौपानले जानकारी दिईन् । त्यसबाहेक चङरेली पिङ, रोटे पिङ, घुमाउने पिङ, विभिन्न जातजाति तथा समुदायका मौलिक सांस्कृतिक प्रस्तुति पनि महोत्सवमा आकर्षणका रुपमा रहनेछन् ।
महोत्सवमा सांस्कृतिक विविधता, स्थानीय जीवनशैली, मौलिक खाना, कला, परम्परागत रोटेपिङसहित विविध कार्यक्रम गरिने ओटेफकी संस्थापक अध्यक्ष जमुना पराजुलीले जानकारी दिईन् । ‘हाम्रो मौलिक पर्व बडादशैंलाई पर्यटनसँग जोड्दै विदेशी तथा स्वदेशी पर्यटकलाई नेपाली मौलिक संस्कृतिको प्रत्यक्ष अनुभव गराउनु नै महोत्वको उद्धेश्य हो’–उनले भनिन् ।
महोत्सवको उद्घाटनअघि खहरेचोकदेखि बाराहीघाटसम्म सांस्कृतिक तथा पर्यटन प्रवद्र्धन झाकी सहित ¥याली आयोजना गरिने ओटेफकी निवर्तमान अध्यक्ष तथा कार्यक्रम संयोजक उमा रेग्मी भण्डारीले जानकारी दिईन् । उनका अनुसार कोजाग्रत पूर्णिमाका दिन पूर्वाह्न १०ः३० बजेदेखि झाँकीसहितको ¥याली निकालिनेछ ।
महोत्सवले पोखराको पर्यटनमा नया आयाम थप्ने आयोजकको विस्वास छ । संस्कृतिलाई पर्यटनसँग जोडेर महोत्सव आयोजना गरिएको र यसले ईभेन्टहरुको सहर पोखरामा पर्यटक आकर्षित गर्न थप टेवा पु¥याउने अपेक्षा गरिएको अध्यक्ष न्यौपानेले बताईन् ।
कार्यक्रममा बोल्दै पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले संस्कृतिलाई पर्यटनसँग जोडेर कार्यक्रम आयोजना गरिनु सुखद पक्ष भएको बताए । उनले भने,‘बडादशैं नेपालीको महान चाँड भएकाले यहाँको संस्कृति र परम्पराबारे विदेशी पर्यटकलाई जानकारी दिदा नेपाली परम्परा विदेशसम्म पुग्छ र त्यसले पर्यटनमा सकारात्मक प्रभाव पार्छ ।’ तर महोत्सवमा बडादशैंबारे जानकारी दिन यसको सांस्कृतिक पक्ष, किम्वदन्तीलगायतबारे सहि सूचना दिईनुपर्ने उनको भनाई छ ।
नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेश कार्यालयका बरिष्ठ अधिकृत जयशक्ति सराफले महोत्सवले पर्यटन प्रवद्र्धनमा सकारात्मक भूमिका खेल्ने विस्वास व्यक्त गरे । उनले ओटेफले आयोजना गर्ने महोत्सव सफल बनाउन पर्यटन वोर्डले सहयोग गर्ने प्रतिबद्धता जनाईन् ।
महोत्सव सम्पन्न गर्न करीब २५ लाख खर्च लाग्ने आयोजकको अनुमान छ । जुन गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, वडा कार्यालयसँगै नेपाल पर्यटन वोर्ड र प्रायोजकबाट संकलन गरेर खर्च गरिने ओटेफकी संस्थापक अध्यक्ष जमुना पराजुलीले जानकारी दिईन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


प्रिमियम मोटरसाइकल ब्रान्ड सीएफमोटोले पोखराको बिक्री, सर्भिस र स्पेयर पार्ट्ससहितको ३एस आउटलेट…







