इञ्जिनियर हरिबहादुर पहारीले आफ्नो जग्गा हालसाबिक गर्दा पाएका दुःखलाई लिपिबद्ध गरेर हालसाबिक कृति नै प्रकाशित गरेका छन् ।
पहारी कुल संरक्षण समितिको आयोजनामा शनिवार सम्पन्न लोकार्पण समारोहकाबीच कार्यक्रममा प्रमुख अतिथि स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोलालगायतका अतिथिहरूले कृतिको संयुक्त रूपमा लोकार्पण गरे । प्रमुख अतिथि बास्तोलाले हालसाबिक कृति सम्भ्रान्तहरूको बसोबास रहेको सहर पोखरामा यहाँका केही खराब प्रवृत्तिधारी कर्मचारी, जनप्रतिनिधि, शैक्षिक संस्था सञ्चालक र संघसंस्थाका प्रतिनिधिले दिएको पीडाको दस्तावेज हो भने । उनले थपे ‘विकृति र विसङ्गति सहेर बस्ने नभई त्यसलाई लिपिबद्ध गर्न सकियो भनेमात्र त्यसले समाजमा चेतना जगाउने हुँदा चेतनाको दीप जलाउन हरिबहादुर पहारी जस्ता जुझारु युवाको खाँचो छ ।’
पुतलीबजार प्रज्ञा–प्रतिष्ठानका उपकुलपति दुर्गाबहादुर शाह बाबाले देशका केही खराब प्रवृत्तिधारी व्यक्तिका कारण इमान्दार राष्ट्रसेवक, कर्मचारी र जनप्रतिनिधिलाई अप्ठ्यारो पर्ने गरेको बताए । उनले थपे, ‘जब कर्मचारीले कमजोरी गर्दैन तब उसले कसैको चर्को स्वर सुन्नै पर्दैन किनकि, म पनि राष्ट्र बैंकको उपनिर्देशकबाट अवकाश प्राप्त कर्मचारी हुँ तर जागिरे जीवनमा कमजोरी नगरेकै कारण आज शिर उचो गरेर हिँड्न पाएको छु ।’ कृति समीक्षा गर्र्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकीका महासचिव असफल गौतमले हालसाविक कृति पोखरा जस्तो सहरमा सुशासन, न्याय र बौद्धिक चिन्तन हराएको चित्रका रूपमा बजारमा आएको बताए । उनले देशका कार्यपालिका, व्यवस्थापिका र न्यायापालिकाको वेथितिको विद्रप रूप जस्ताको तस्तै पाठकमाझ ल्याएको भन्दै कृतिकारप्रति कृतज्ञता ज्ञापन गरे ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष हरिबहादुर भुजेलले पहारीको हालसाबिकले कास्कीको आवाज मात्र नबोलेर हाम्रा केही खराब प्रवृत्तिको चित्रण गरेको बताए । उनले थपे, ‘क्रान्तिको अनुपम नमुना कलम र कुची भएकाले हरिबहादुरको पुस्तकले अर्थ बोकेर आएको छ ।’टे«किङ्ग एजेन्सी एशोसिएसन अफ् नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्ण आचार्यले टे«किङ्ग व्यवसायमै संलग्न हरिजस्ता युवालाई संरक्षण गर्नु टानको पनि दायित्व रहेको बताउँदै विकृति विसङगतिलाई देखेर पनि आवाज उठाउन नसकेका बेला हरि पहारीले गरेको साहस प्रशंसा योग्य छ भने ।पहारी कुल संरक्षण समितिका सल्लाहकार गोविन्दराज पहारीले राज्यका केही कर्मचारीको कमजोरीले कृति जन्मेको बताए । उनले प्रविधिमा लीन भएर पठन परम्परालाई बिर्सन नहुनेमा जोड दिँदै आफूले हालसाबिक कृति तीन पटक पढेको बताए ।
पोखरा–६, बैदाम महिला सञ्जालकी अध्यक्ष बबिता मल्लले हरिबहादुरजीले आफूले भोग्नु परेको यथार्थलाई कृतिका रूपमा प्रकाशित गरेको भन्दै सबैले यसरी नै खबरदारी गर्न आवश्यक रहेको धारणा राखिन् ।कृतिका लेखक हरिबहादुर पहारीले जापानमा इन्जिनियरिङ्ग पूरा गरेर योग्यतानुसारको सेवा सुविधा पाउँदा पाउँदै आफ्नै जन्मभूमिमा केही गरौँ भनेर आएपछि जग्गा हालसाबिक गर्ने क्रममा ५०७ दिनसम्म अनाहकमा भोग्न परेको पीडा अरूलाई नपरोस् भन्ने सन्देश फैलाउन उक्त सङ्घर्षलाई तथ्य र प्रमाणसहित लिपिबद्ध गरेको बताए ।
पहारी कुल संरक्षण समितिका अध्यक्ष जगत्बहादुर पहारीले हरिले सन्देशमूलक कृति प्रकाशित गरेर पहारी वंशमा सचेतना जगाउने काम गरेको बताउँदै यस्ता योग्य प्रतिभालाई देशमै राख्नका लागि प्रेरित गर्न समिति निरन्तर लागिरहने धारणा राखे । अधिवक्ता प्रमिला आचार्य शर्माले हरिबहादुर पहारी पछिल्लो पुस्ताका लागि एउटा प्रेरणाको स्रोत भएको धारणा राखिन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


प्रिमियम मोटरसाइकल ब्रान्ड सीएफमोटोले पोखराको बिक्री, सर्भिस र स्पेयर पार्ट्ससहितको ३एस आउटलेट…







