बाल कल्याण संस्थाले २५ औं वर्षगाँठ मनायो, पत्रकार प्रतीक्षासहित तीन पुरस्कृत


     एभरेस्ट आवाज    
     असाेज १२ गते २०८३ मा प्रकाशित




पोखरा, असोज १२

पोखराको अब्बल बालगृहको पहिचान बनाएको बाल कल्याण संस्थाले सोमबार रजत जयन्ती विशेष कार्यक्रम गरेको छ । पोखरा–१८ सेदीमा रहेको संस्थाले २५ औं वर्षगाँठको अवसरमा ३ फरक क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गरेको छ । संस्थाले गैरसरकारी संस्था महासंघको नेतृत्वमा रहेर बालगृहरुको क्षेत्रमा महत्वपूर्ण योगदान दिएको भन्दै गैसस महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष रामप्रसाद सुवेदीलाई दोषल्ला ओढाएर सम्मान ग¥यो ।

त्यस्तै, पत्रकारितामार्फत बालबालिकाको समस्या र बालगृहहरुको प्रवद्र्धनमा भूमिका खेलेको भन्दै कान्तिपुर दैनिकका स्याङ्जा सम्वाददाता प्रतीक्षा काफ्लेलाई पनि पुरस्कृत गरिएको थियो । हरेक वर्ष बालबालिकाको क्षेत्रमा कलम चलाउने एक पत्रकारलाई बाल कल्याण पत्रकारिता पुरस्कारबाट पुरस्कृत गर्दै आएको संस्थाले यस पटक काफ्लेलाई पुरस्कृत गरेको हो । उनलाई नगदसहित दोषल्ला र सम्मान पत्रले सम्मानित गरिएको थियो ।

यसैगरी, वर्षभरी गरेको कामको आधारमा १४ वर्षदेखि कर्मचारीका रुपमा संस्थामा योगदान गर्दै आएकी पार्वती पौडेललाई उत्कृष्ट कर्मचारी सम्मानबाट सम्मानित गरिएको थियो ।

कार्यक्रममा संस्थाको सामाजिक लेखा परीक्षणसमेत सम्पन्न गरिएको थियो । बालगृह सञ्चालनका लागि बनाइएको १८ बुँदे मापदण्ड पूरा गरेर संस्था चलाएको पाइएको सामाजिक लेखा परीक्षक दीपेन्द्र श्रेष्ठले जानकारी दिए । चिल्ड्रेन वेलफेयर एशोसियसन स्वीजरल्याण्डको सहयोगमा सञ्चालित संस्थामा हाल २० जना बालक र १५ जना बालिकासहित कुल ३५ जना बालबालिकालाई आवासीय सुविधा, भोजन र शिक्षाको व्यवस्थासहित संरक्षण गरिरहेको सो अवसरमा जानकारी दिईयो ।

२०५७ सालमा स्थापित यस संस्था हाल तरकारी र दूधमा आत्मनिर्भर हुनुका साथै माछासमेत आन्तनिर्भर हुने प्रक्रियामा रहेको श्रेष्ठले जानकारी दिए । संस्थाले संरक्ष गरेकामध्ये हालसम्म ३४ जना समुदायमा पुर्नस्थापित गराईसकेको तथा ९० जना विद्यार्थीलाई छात्रवृत्तिसमेत प्रदान गर्दै आएको सो अवसरमा जानकारी दिईयो । गत वर्षमा ७ जनालाई समुदायमा पुनःस्थापित गरेको उनले बताए ।

कार्यक्रममा बोल्दै संस्थाकी अध्यक्ष ईन्दिरा बरालले बालकल्याण संस्थाले सरकारले तोकेका सबै मापदण्ड पूरा गरेर सञ्चालनमा रहेको बताईन् ।

संस्थाका कार्यकारी अधिकृत बिजयकुमार प्रधानले संस्थाले बालबालिकाको संरक्षणसँगै सामाजिक कार्यलाई पनि निरन्तर रुपमा अगाडि बढाइरहेको बताए । उनले बालबालिकाको रुची अनुसार नै विद्यालय छनौट गरेर शिक्षा दिइरहेको पनि जानकारी दिए ।

संस्थाका प्रशासकीय अधिकृत प्रकाश गिरीले सञ्चालन गरेको कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका गण्डकी प्रदेश कार्यालय प्रमुख नितु गर्तौला, गैसस महासंघका निवर्तमान अध्यक्ष रामप्रसाद सुवेदी, शिक्षाविद् शेरबहादुर गुरुङलगायतले बोल्दै संस्थाले अब्बल रुपमा बालगृह सञ्चालन गरेको बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।