सन्देश श्रेष्ठ
पोखरा, असोज १५
पहिलो चरणमा कोतरेर छाडिएका फिर्केखोलाको संरचना भत्काउन शुरु गरिएको छ । गत जेठ १० गतेदेखि एक हप्तासम्म फिर्केखोला सफाई अभियानका क्रममा कोतरेर छाडिएका संरचना विहीबारदेखि महानगरले भत्काउन शुरु गरेको हो ।
पहिलो चरणमा फिर्केका संरचना भत्काउँदा महानगरले कोतरेर मात्रै छाडेको थियो । त्यतिबेला कोतरेर छाडिएका संरचना स्थानिय आफैले भत्काउने बताइएको थियो । तर त्यसपछि महानगरले ५ पटकसम्म सूचना निकाल्दा संरचना हटाउन अटेर गरेपछि विहीबार विहानबाट डोजर लगाएर संरचना भत्काउन शुरु गरिएको पोखरा महानगर प्रहरी निरीक्षक पुरुषोत्तम थापाले जानकारी दिए ।
पोखराको मध्यभाग भएर बग्ने फिर्केखोलामा ४५ वटा स्थायी र ११५ वटा अस्थायी गरेर कुल १६० वटा संरचना रहेकोमा पहिलो चरणमा १०२ वटा संरचना हटाइएको थियो । भत्काउन बाँकी ५८ वटा संरचना मध्ये दोस्रो चरणको पहिलो दिन विहीबार ६ वटा संरचना हटाइएको नगर प्रहरी निरीक्षक थापाले जानकारी दिए । विहीबार पोखरा–४ र ५ को सीमा क्षेत्रमा पर्ने बुढानिलकण्ठ मन्दिर दक्षिणतर्फका संरचना भत्कायौं,उनले भने,‘अब भत्काउने क्रम निरन्तर चल्छ, सबै नभत्काएसम्म अभियान रोकिन्न ।’
यसअघि पहिलो चरणमा कोतरेर छाडिएका संरचनामा मानिसहरु पुनः बस्न थालेका थिए । भत्काएको संरचनालाई टालटुल पारेर प्रयोग गर्न थालेपछि नागरिक समाज पोखराले महानगरको ध्यानाकर्षण गराएको थियो । महानगरले विहीबार भत्काएको बाहेक अझै साविकको स्काउट कम्पाण्डदेखि एक सय मिटर उत्तरतर्फ रहेको भयँरथान नजिक बनाइएको पक्की घर, सोहि स्काउट कम्पाउण्डदेखि दक्षिणतर्फ रहेका घर टहराहरु भत्काउन बाँकी छ ।
वडा नम्बर ५ मा पर्ने स्काउट कम्पाण्डदेखि एक सय मिटर उत्तरतर्फका भवनहरु, दक्षिणतर्फका संचरनाहरु, रेडियो नेपालको कार्यालयदेखि दक्षिणतर्फ रिठेगौंडा खोलाघरमा बनाइएका संरचनाहरु, रेडक्रस कास्कीको कार्यालय पुलदेखि १० मिटर दक्षिणतर्फका २ वटा भवन, पोखरा ईञ्जिनियरिङ कलेजको भवनदेखि उत्तरपश्चिमतर्फका ५ वटा भवन पनि कोतरेर मात्रै छाडिएका छन् ।
पोखरा–८ स्थित बगालेटोल सामुदायिक भवन, सोंपाल तमु समाज, रेडियो नेपालको कार्यालय पूर्वपट्टीको खोलाघरबाटै उठाइएको संरचना, सशस्त्र प्रहरी बल कालिका गण्डादेखि पूर्व पट्टी (फिर्के खोलापारी) रहेको मगर समाज घरलगायतका संरचनाहरु, बराल समाज घर (व्याडमिन्टन कोर्ट)समेत रहेको भवनसहित त्यसभन्दा उत्तरतर्फका ४ वटा भवनहरु, राधाकृष्ण मन्दिरदेखि एक सय मिटर दक्षिणका ३ वटा घर, पोखरा ईञ्जिनियरिङ कलेजको भवन, गहतेस्थित खोलापारीको नीलो टहरा र लिटिल स्टेप स्कुलको दक्षिणतर्फको संरचना पनि कोतरेर छाडिएका छन् ।
त्यस्तै, पोखरा–७ स्थिता मासवार–रत्नचोक जोड्ने पुलदेखि उत्तरपूर्व खोलाघरमै बनाइएको १५ फिट लामो पर्खाल, गहतेस्थित खोलाघरमा पर्ने लिटिल स्टेप स्कुलदेखि उत्तरतर्फको संरचना र मालपोत कार्यालय नजिकैको कुखुरा फार्म रहेको भवनसमेत यथावत छन् ।
कोतरेर छाडिएको संरचना भत्काउन शुरु गरेपछि नागरिक समाजले त्यसको स्वागत गरेको छ । तर अब फेरी अधुरै नछाड्न नागरिक समाज पोखराका संस्थापक संयोजक रामबहादुर पौडेलले खबरदारी गरे । ढिलै भए पनि कोतरेर छाडिएका संरचना भत्काउन शुरु गरेकोमा धन्यवाद व्यक्त गर्दछौं,उनले भने,‘तर अब अभियान रोकिनु हुन्न पूर्ण रुपमा नभत्काएसम्म ।’ उनले फिर्केखोला घर मिचेर बनाइएको सम्पूर्ण संरचना भत्काएर फिर्के करिडोर निर्माण सम्पन्न भएमा पोखराका मेयरसहित फिर्केखोला बग्ने वडाका वडाध्यक्षहरुलाई सार्वजनिक समारोहमा सम्मान गर्ने पनि घोषणा गरेका छन् ।
महानगरले फिर्के सफाई अभियान सम्पन्न भएपछि फिर्के परियोजना सञ्चालन गर्ने जनाएको छ । जहाँ फिर्के करिडोर निर्माणसहित हरियाली बनाई पर्यटकीय केन्द्र बनाउनेगरी परियोजना सञ्चालन गरिने पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्यले बताउँदै आएका छन् । परियोजना सञ्चालन भएमा फिर्के संरक्षणसँगै स्थानियको आयआर्जनसमेत बढाएर रोजगारी सिजर्ना हुने उनको दाबी छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असोज १५ फ्लाई दुबईले पोखरा–दुबई उडान शुरु गरेसँगै पोखरेली पर्यटन…







