कांग्रेस १५औँ महाधिवेशनको तयारी तीव्र, उद्घाटनका लागि देउवालाई औपचारिक प्रस्ताव


     एभरेस्ट आवाज    
     असाेज १६ गते २०८३ मा प्रकाशित




नेपाली कांग्रेसको यही असोज १८ देखि काठमाडौँमा हुन लागेको १५औँ राष्ट्रिय महाधिवेशनको तयारी तीव्र पारिएको छ ।

महाधिवेशन समारोहस्थल व्यवस्थापन समितिले काठमाडौँको खुलामञ्चमा मञ्च व्यवस्थापनको कामलाई तीव्रता दिएको हो । उद्घाटनस्थल र बन्दसत्र गर्न मञ्च व्यवस्थापनको कामलाई तीव्रता दिइएको पार्टीका प्रवक्ता देवराज चालिसेले जानकारी दिए । महाधिवेशनमा करिब सात हजार ७०० भन्दा बढी प्रतिनिधि सहभागी हुने अनुमान गरिएको छ । सहभागी नेता तथा कार्यकर्तालाई समेत आफ्ना गतिविधि र सन्देश डिजिटल माध्यमबाट सम्प्रेषण गर्न आग्रह गरिएको प्रवक्ता चालिसेले बताए।प्रवक्ता चालिसेले महाधिवेशनको औपचारिक उद्घाटनका लागि निवर्तमान सभापति शेरबहादुर देउवालाई प्रस्ताव गरिएको पनि जानकारी दिए।प्रवक्ता चालिसेले निवर्तमान सभापति देउवाको उपस्थितिले महाधिवेशनमा विशेष अर्थ राख्ने बताए।

उद्घाटनसत्रको भोलिपल्ट असोज १९ देखि बन्दसत्र हुनेछ । बन्दसत्रका लागि महाधिवेशन प्रतिनिधि बस्नका लागि दुई हजार ५०० प्रतिनिधि अट्न मिल्नेगरी छुट्टाछुट्टै तीनवटा हलको व्यवस्था गरिएको छ । प्रतिनिधिको दर्ता भने पार्टी केन्द्रीय कार्यालय सानेपामा आजदेखि नै सुरु भएको छ । बन्दसत्रको पहिलो दिन पार्टी सभापति गगनकुमार थापाले दस्तावेज प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । यस्तै, उपसभापति, महामन्त्री र कोषाध्यक्षले समेत नीतिगत, साङ्गठनिक र आर्थिक प्रतिवेदन पेस गर्नेछन् ।खुलामञ्चमा सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशन असोज १८ गते दिउँसो २ः०० बजे खुलामञ्चमा भव्यताका साथ उद्घाटन हुने जानकारी दिए । उनले महाधिवेशन उद्घाटन कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख र सोसलिष्ट इन्टरनेशनलका प्रतिनिधिलाई आमन्त्रण गरिएको जानकारी दिए । उद्घाटनसत्रको भोलिपल्ट असोज १९ देखि बन्दसत्र हुनेछ । बन्दसत्रका लागि महाधिवेशन प्रतिनिधि बस्नका लागि दुई हजार ५०० प्रतिनिधि अट्न मिल्नेगरी छुट्टाछुट्टै तीनवटा हलको व्यवस्था गरिएको छ । महाधिवेशन प्रतिनिधिहरूलाई खानाका लागि भृकुटीमण्डपमा व्यवस्थापन मिलाइएको उपसभापति शर्माले बताए ।

खुलामञ्चभित्र सरसफाइ कायम राख्दै खाना,खाजा पूर्ण रूपमा निषेध गरिएको छ । यस्तै, प्रतिनिधिका लागि न्यूनतम शुल्कमा आवासको प्रबन्ध मिलाइएको कांग्रेसले जनाएको छ । मञ्च व्यवस्थापनको पछिल्लो अवस्थाबारे बुझ्न पार्टी उपसभापति शर्मा, कोषाध्यक्ष उमेश श्रेष्ठ, प्रवक्ता चालिसे, नेता डा चन्द्रकान्त भण्डारी, पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाललगायत खुलामञ्च पुगेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।