पोखराको प्रकृति, संस्कृति र आतिथ्यताप्रति उत्तरपूर्वी भारतका टुर्स अपरेटरहरु नतमस्तक, पर्यटनमा सहकार्य गर्न तयार


     एभरेस्ट आवाज    
     असाेज १६ गते २०८३ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, असोज १६

नेपाल र भारतबीच रोटीबेटीको सम्बन्ध छ । नेपाली र भारतीयबीच वैवाहिक सम्बन्ध मात्र होईन, दुईदेशीय व्यापार पनि चल्दै आएको छ । जसले दुई देशका नागरिकलाई नजिक्याउनुका साथै आपसमा अन्तरनिर्भर पनि बनाएको छ ।

यहि सम्बन्धलाई पोखरेली पर्यटन व्यवसायीहरुले व्यवसायीक सम्बन्ध बनाउन प्रस्ताव गरेका छन् । उनीहरुले एकअर्काको ठाउँमा पर्यटक पठाएर व्यवसायीक लाभ लिन सकिने बताउँदै उत्तरपूर्वी भारतीय पर्यटकहरुलाई सहकार्यको प्रस्ताव गरेका हुन् । गण्डकी प्रदेश होटल संघका अध्यक्ष हरि शर्मा गैह्रेको पहलमा पोखरा आएका नर्थ उत्तरपूर्वी भारतीय पर्यटन महासंघ (ईस्ट ईण्डियन टुरिष्ट कन्फड्रेसन एनईआईटिसी)का २४ जना प्रतिनिधिहरुसँग शुक्रबार सामुहिक छलफल गरिएको थियो । भारतको उत्तराखण्ड, अरुणाञ्चल, सिक्किम, असाम, गुहावटी, दार्जिलिङ, मणिपुरसम्मका टुर्स अपरेटरहरुसँगको छलफलमा पोखरेली पर्यटन व्यवसायीहरुले पर्यटक आदानप्रदान गर्ने सहकार्य सम्झौता गर्न प्रस्तावसमेत गरे ।

छलफलमा बोल्दै पोखरा पर्यटन परिषदका अध्यक्ष हरि भुजेलले पोखरा र उत्तरपूर्वी भारतको भुगोल र संस्कृति मिल्ने भएकाले आपसमा सहकार्य गर्न सकिने बताए । यहाँ पनि शक्तिपीठहरु छन्, त्यहाँ पनि शक्तिपीठहरु छन्,उनले भने,‘यी दुई देशका गन्तव्यहरुलाई जोडेर हामी पर्यटनमा सहकार्य गरौं, सहकार्य सम्झौता (एमओयु) नै गरेर जाऔं ।’ उनले पोखराबाट अन्तर्राष्ट्रिय फ्लाईट भइरहेको भन्दै अब भारतका सहरहरुसँग पनि हवाई सञ्जालले जोड्न सकिने बताए । त्यसका लागि भारतीय पक्षसँग पहल गर्न आग्रह गर्दै उनले भारतीय टुर्स अपरेटरहरुलाई भने,‘यहाँ फ्लाई दुबईले पोखरा–दुबई उडान गरिरहेको छ । अब उत्तरपूर्वी भारतका कुनै सहरसँग हवाई कनेक्टिभिटी गर्न सकियो भने पोखरासँगै भारतीयहरुले पनि फाईदा लिन सक्छन् ।’

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पोखरा उत्तरपूर्वी भारतीय सहरका टुर्स अपरेटरहरुसँग सहकार्य गर्न तयार रहेको बताए । उनले पोखरासहित नेपालका अधिकांश ठाउँहरु आवतजावतका लागि खुल्ला भइसकेको बताउँदै भने,‘रसुवासहित केहि ठाउँहरुमा मात्रै बाढी पहिरोको समस्या हो, अन्यत्र समस्या छैन ।’ उनले पोखरा खुल्ला रहेको र सुरक्षित रहेकोसमेत बताए । हाम्रो रोटीबेटीको सम्बन्ध हो,उनले भने,‘अब यसलाई पर्यटन आदानप्रदान गरेर थप बलियो बनाऔं ।’

नेपाल एशोसियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेश अध्यक्ष संगीता पौडेलले पनि पर्यटनको क्षेत्रमा सहकार्य गर्न सकिने बताईन् । पर्यटनको राजधानी पोखरालाई सम्झेर आउनु भएकोमा तपाईंहरुलाई धन्यवाद छ,उनले भनिन्,‘आउनूस पर्यटनमा सँगै मिलेर काम गरौं ।’ यसो भएमा दुवै पक्षलाई फाईदा पुग्ने उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै उत्तरपूर्वी भारतीय पर्यटन महासंघका अध्यक्ष छिरिङ वाङगेले पोखरा साँच्चिकै सुन्दर रहेको बताए । प्राकृतिक हिसाबले पोखरा साँच्चिकै सुन्दर रहेछ,उनले भने,‘यहाँको हस्पिटालिटी पनि अत्यन्तै राम्रो लाग्यो ।’ उनले पोखरासँग पर्यटनमा सहकार्य गर्न आफूहरु ईच्छुक रहेको बताए । तपाईंहरुलाई जस्तै हामीलाई पनि पोखरासँग सहकार्य गर्न मन छ,उनले थपे,‘हामी बढीभन्दा बढी पर्यटक पठाउन तयार छौं, यताबाट पनि तपाईंहरुले पठाउनुहोला ।’

पाचौं पटक सगरमाथाको सफल आरोहण गरिसकेकी गिनिज बुक्स अफ वल्र्ड रेकर्डसमेत कायम गरेकी डा.अंशु जेम्सेन्पाले पोखरा उत्कृष्ट गन्तव्यमध्येको एक लागेको बताईन् । पोखराले दिएको न्यानो आतिथ्यताको प्रशंसा गर्दै उनले भनिन्,‘हस्पिटालिटी त पोखरासँग सिक्नुपर्ने रहेछ, साँच्चिकै गज्जब लाग्यो ।’

कार्यक्रममा पाँच पटकसम्म सगरमाथाको सफल आरोहण गरेकी डा.अंशुलाई पोखरेली पर्यटन व्यवसायीको तर्फबाट सम्मान गरिएको थियो । साथै अन्य टुर्स अपरेटरहरुलाई मायाको चिनोसमेत प्रदान गरिएको होटल संघ पोखराका कोषाध्यक्ष रमेश पौडेलले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।