पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित,गलकोटमा ६३ घरमा क्षति


     एभरेस्ट आवाज    
     असाेज १८ गते २०८३ मा प्रकाशित




असोज ९ देखि ११ गतेसम्म आएको बाढीपहिरोबाट पर्वतका ३०० परिवार विस्थापित भएका छन् । जिल्लाभर १७० घर पूर्ण रूपमा क्षति भएका छन् भने १३१ घरमा आंशिक क्षति भएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार सात पालिकामध्ये छ पालिकाका विभिन्न बस्तीमा क्षति भएको हो । सबैभन्दा बढी जलजला गाउँपालिकामा ११३ घरमा धेरै क्षति भएको छ । त्यहाँका ५८ घर पहिरोको जोखिममा छन् । जलजलाका १७१ परिवार विस्थापित भएका छन् ।कुश्मा नगरपालिकामा दुई, फलेवास नगरपालिकामा २०, बिहादी गाउँपालिकामा नौ, महाशिला गाउँपालिकामा दुई र मोदी गाउँपालिकामा १५ घर पूर्ण रूपमा क्षति भएका छन् ।फोर्से बजार समेत तहसनहस बनेको छ । बाढीले फोर्सेका ७५ घर–टहरा बगाएको छ भने २७ घर उच्च जोखिममा छन् । बाढीबाट करिब ३ सय जना प्रभावित भएका छन् । कालीगण्डकीको कटानले सयौँ मुरी धान फल्ने खेत र फोर्से बजार बगरमा परिणत भएका छन् ।

जिल्लाभर १३१ घर आंशिक क्षति भएको प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले जानकारी दिए । बाढीपहिरोले पाँच वटा विद्यालय भवन, कृषि फार्म, मन्दिर, स्वास्थ्य र प्रहरी चौकीमा क्षति भएको छ । पर्वत–बागलुङ जोड्ने झोलुङ्गे पुल मध्यपहाडी लोकमार्गको मालढुङ्गा पुलमा पनि क्षति भएको छ । जिल्लाका ग्रामीण सडक अझै अवरुद्ध छन् ।गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको बाढी, पहिरो र हुरीले ६३ घरमा क्षति भएको छ ।

गलकोट नगरपालिकाका अनुसार एउटा वडा कार्यालयसहित ६३ घरमा क्षति भएको छ । अन्य १३३ घरमा आंशिक क्षति भएको छ । हुरीले ३९ घर पूर्ण, ५२ घरमा आंशिक क्षति भएको छ । यसैगरी, पक्की सिँचाइका २१ संरचनामा धेरै र २४ वटामा सामान्य क्षति भएको छ । कच्ची सिँचाइका २०३ संरचनामा पनि नोक्सानी भएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।