कांग्रेस महाधिवेशन उद्घाटन सत्र जारी, विभिन्न दलका शीर्ष नेताहरु उपस्थित,विभिन्न मुलुकका पार्टी र नेताले दिए शुभकामना


     एभरेस्ट आवाज    
     असाेज १८ गते २०८३ मा प्रकाशित




नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँमा सुरु भएको छ ।

‘परम्पराको सम्मान र परिवर्तनको सङ्कल्पः समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ नारासहित सुरु भएको महाधिवेशनमा मुलुकका विभिन्न दलका शीर्ष नेताको सहभागिता रहेको छ । पार्टीका सभापति गगनकुमार थापाले महाधिवेशनको उद्घाटन गमलाको बिरुवामा जल सिञ्चन गरी गरे । उद्घाटन सत्रमा सभापति थापासँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, नेकपा एमालेका महासचिव शङ्कर पोखरेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेता सहभागी छन् ।महाधिवेशनलाई विभिन्न देशका राजनीतिक दल तथा नेताहरूले शुभकामना दिएका छन् ।

कांग्रेसको महाधिवेशनलाई भारतको सत्तारूढ भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीन र प्रमुख प्रतिपक्षी दल इण्डियन नेसनल कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले शुभकामना दिए । चिनियाँ कम्युनिष्ट पार्टी, सोसलिस्ट इन्टरनेसनलका अध्यक्ष तथा स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले पनि महाधिवेशन सफलताको शुभकामना दिएका छन् । त्यस्तै एसिया तथा युरोपका विभिन्न राजनीतिक दल र संस्थाबाट कांग्रेसलाई शुभकामना दिए । इन्टरनेसनल काउन्सिल अफ एसियन पोलिटिकल पार्टिज आइक्या स्ट्यान्डिङ कमिटी, बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान तथा बेलायतको लेबर पार्टीले कांग्रेसको महाधिवेशनको सफलताको शुभकामना दिए।

महाधिवेशनको बन्दसत्र र अन्य कार्यक्रम भने सोमबार र मङ्गलबार हुनेछ । निर्वाचन कार्यक्रमका लागि असोज २१ र असोज २२ गते तोकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।