तालबाराही माविमा १५ लाखको बालमैत्री फर्निचर सहयोग हस्तान्तरण


     एभरेस्ट आवाज    
     असाेज २० गते २०८३ मा प्रकाशित




पोखरा । पोखरा–६, बैदामस्थित तालबाराही माध्यमिक विद्यालयमा १५ लाख रुपैयाँ बराबरको बालमैत्री फर्निचर हस्तान्तरण गरिएको छ। बालमैत्री फर्निचरले विद्यार्थीलाई सहज, सम्मानजनक र बालमैत्री शैक्षिक वातावरण निर्माणमा सहयोग पुग्ने विश्वास गरिएको छ।

सोमबार विद्यालयमा आयोजित बालमैत्री फर्निचर हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष गोविन्दराज पहारीले बैदामस्थित तालबाराही माध्यमिक विद्यालय भौतिक तथा शैक्षिक रूपमा पछि परेको उल्लेख गर्दै विद्यालयको विकासका लागि स्थानीयको साथ र सहयोग आवश्यक रहेको बताउनु भयो ।
बालबालिकाले सहज, सम्मानजनक र बालमैत्री वातावरणमा अध्ययन गर्न सकून् भन्ने उद्देश्यले खरिद गरिएका फर्निचर, कार्पेट, टेबल, कुर्सी तथा पुस्तक कुनाका ¥याकलगायतका सामग्री विद्यालयलाई हस्तान्तरण गरिएको हो।
कुल १५ लाख रुपैयाँ लागतको उक्त सामग्री खरिदका लागि NAFA Australia, Brisbane बाट ७ लाख रुपैयाँ र प्रविधि क्षेत्रमा क्रियाशील युवा व्यवसायी विपिन भण्डारीको कम्पनी भर्गो बिल्डर्स एण्ड ट्रेडबाट ८ लाख रुपैयाँ सहयोग प्राप्त भएको पहारीले जानकारी दिनुभयो ।

पहारीले विद्यालय व्यवस्थापन समितिको अध्यक्षका रूपमा कार्यरत रहेको करिब ६ महिनाको अवधिमा विद्यालयको भौतिक तथा शैक्षिक सुधारका लागि विभिन्न क्षेत्रबाट कुल ३५ लाख ३९ हजार रुपैयाँ बराबरको स्रोत जुटाइएको बताउनु भयो।

उहाँका अनुसार करिब ४६ वर्षदेखि खुला र असुरक्षित अवस्थामा रहेको डिहीको पाटनस्थित विद्यालयको जग्गामा करिब १५ लाख रुपैयाँ सहयोग जुटाएर उहाँ अध्यक्ष रबेकै बेला तारबार गरिएको थियो। यसले विद्यालयको जग्गा संरक्षणसँगै भविष्यमा उक्त जग्गालाई शैक्षणिक तथा अतिरिक्त आयआर्जनका लागि उपयोग गर्ने अवसरसमेत सिर्जना गरेको छ।

यसैगरी विद्यालयको जीर्ण भवनमा रंगरोगन, बिग्रिएका ढोका, झ्याल तथा शौचालय मर्मतका लागि ३ लाख ६० हजार रुपैयाँ बराबरको सहयोग जुटाइएको पहारीले बताउनु भयो।

विद्यालयमा रहेको खानेपानीको समस्या समाधान गर्न ५ लाख ६४ हजार रुपैयाँको लागतमा पानीको बोरिङ तथा ३ लाख ७५ हजार रुपैयाँको लागतमा वाटर फिल्टर ट्याङ्की निर्माण गरिएको उहाँले जानकारी दिनुभयो। यसअघि ट्याङ्करबाट पानी खरिद गर्दा दैनिक करिब ३ हजार रुपैयाँ खर्च हुने गरेको थियो।

विद्यालयका ५ सय विद्यार्थीका लागि न्यानो स्वेटरको व्यवस्था गरिएको तथा छात्राहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै ५० हजार रुपैयाँको लागतमा स्यानिटरी प्याड भेन्डिङ मेसिन जडान गरिएको पनि उहाँले बताउनुभयो।

विद्यालयको SEE नतिजा सुधारका लागि पहिलोपटक विद्यालयमै छात्रावास सञ्चालन गरिएको र त्यसपछिका वर्षमा नतिजामा सुधार आएको पहारीको भनाइ छ।

शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउने उद्देश्यले १ लाख ७५ हजार रुपैयाँको लागतमा स्मार्ट डिजिटल बोर्डसमेत जडान गरिएको छ। यसले विद्यार्थीलाई श्रव्यदृश्य माध्यमबाट सिक्न सहज बनाएको छ। बालबालिकाको सिकाइको जग बलियो बनाउने उद्देश्यले ECEC नेपालसँगको सहकार्यमा ६ लाख रुपैयाँ बराबरको एकवर्षे सघन प्रारम्भिक बाल विकास (ECD) शिक्षक तालिमसमेत सञ्चालन भइरहेको छ। तालिमले शिक्षकलाई बालमनोविज्ञान बुझ्न तथा माया, खेल र सिर्जनात्मक माध्यमबाट बालबालिकालाई सिकाउन सहयोग पुगेको पहारीले बताउनु भयो।

बालबालिकाका लागि फर्निचरसमेत बालमैत्री हुनुपर्ने अवधारणाअनुसार आज हस्तान्तरण गरिएका सामग्री तयार गरिएको उनले बताए।

कार्यक्रममा पहारीले विद्यालय सुधार कुनै एक व्यक्तिको प्रयासबाट सम्भव नहुने भन्दै विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक, अभिभावक, पूर्वविद्यार्थी, स्थानीय समुदाय र सहयोगी संस्थाहरूको साझा प्रयास आवश्यक रहेको बताउनुभयो।
“आज म पदमा छैन, तर तालबाराही विद्यालयप्रतिको मेरो माया, निष्ठा र जिम्मेवारीमा कुनै कमी आएको छैन,” उहाँले भन्नुभयो, “पद सकिए पनि समाज र शिक्षाप्रतिको समर्पण कहिल्यै सकिँदैन।”
तालबाराही माध्यमिक विद्यालय सामुदायिक विद्यालय मात्र नभई बैदामवासीको इज्जत र प्रतिष्ठासँग जोडिएको साझा धरोहर भएको उल्लेख गर्दै पहारीले विद्यालयको उन्नतिका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले NAFA Australia, Brisbane, विपिन भण्डारी तथा उनको कम्पनी, ECEC नेपाल, विद्यालय परिवार, पूर्वविद्यार्थी तथा सम्पूर्ण सहयोगी हातप्रति कृतज्ञता व्यक्त गर्नुभयो।

सहयोगदाता भर्गो बिल्डर्स एण्ड ट्रेडका विपीन भण्डारीले विद्यार्थीका लागि शैक्षिक वातावरणमैत्री अवस्था सिर्जना गर्न फर्निचर सहयोग गरेको बताउनुभयो। उहाँले विद्यार्थीले आफ्नो पढाइलाई पहिलो प्राथमिकतामा राख्दै सरकारी विद्यालयबाट पनि गुणस्तरीय शिक्षा प्राप्त गर्न सकिन्छ भन्ने सन्देश दिनुपर्नेमा जोड दिनुभयो।

पोखरा–६ का पूर्व वडाध्यक्ष जगतबहादुर पहारीले विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षकहरूको शिक्षण–सिकाइ पनि प्रभावकारी हुनुपर्ने बताउनुभयो।

स्वतन्त्र पत्रकार संघका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले विद्यार्थी, अभिभावक र विद्यालय व्यवस्थापनबीच प्रभावकारी समन्वय भए गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने बताउनुभयो। सरकारी विद्यालयको शैक्षिक अवस्था सुधार गर्न धेरै समय नलाग्ने उल्लेख गर्दै उहाँले विद्यालय सरस्वतीको मन्दिर भएकाले विद्यार्थीले आफ्नो अध्ययनलाई निरन्तर अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो।

इसीइसी नेपाल पोखराका प्रतीक पराजुलीले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको शैक्षिक गुणस्तर सुधार गर्न आफ्नो संस्थाले शिक्षक तालिम तथा प्रयोगात्मक कक्षा सञ्चालन गर्दै आएको बताउनु भयो।

सहायक प्रधानाध्यापक द्रोणराज भूर्तेलले विद्यालयको शैक्षिक गतिविधि सहज बनाउन विभिन्न सहयोगदाताले पुर्‍याएको योगदानप्रति धन्यवाद व्यक्त गर्नुभयो। विद्यालयका नर्सरीदेखि कक्षा ५ सम्मका बालबालिकाका लागि उपलब्ध गराइएको बालमैत्री फर्निचरले उनीहरूको सिकाइ वातावरणलाई सहज र सम्मानजनक बनाउन सहयोग पुग्ने विश्वास विद्यालयले लिएको उहाँको भनाई थियो।
अग्रज पर्यटन व्यवसायी तथा समाजसेवीसमेत रहेका विद्यालयका निवर्तमान अध्यक्ष पहारीको ६ महिने अध्यक्षीय कार्यकालमा विद्यालयका लागि विभिन्न क्षेत्रबाट ३५ लाख ३९ हजार रुपैयाँ बराबरको सहयोग जुटाएको उहाँले जानकारी दिनुभयो । यसैगरी ६ लाख रुपैयाँ बराबरको एकवर्षे सघन प्रारम्भिक बाल विकास तथा शिक्षक तालिम सञ्चालन भइरहेको छ।

कार्यक्रममा वडा–६ का सचिव विष्णुप्रसाद शर्मा, शिक्षिका सरस्वती सुवेदीलगायतले आफ्ना भनाइ राखेका थिए। कार्यक्रममा विद्यार्थीले नृत्यसमेत प्रस्तुत गरेका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।