उपसभापतिमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उमेद्वारी दर्ता


     एभरेस्ट आवाज    
     असाेज २० गते २०८३ मा प्रकाशित




गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले उपसभापति पदमा उम्मेदवारी दिएका छन् ।

पार्टीलाई थप एकताबद्ध, सुदृढ र समयानुकूल बनाउँदै अघि बढाउन आफूले उपसभापति पदमा उम्मेदवारी दिएको पाण्डेले बताए। पार्टीभित्र र बाहिरबाट कांग्रेसको एकता र सुदृढ संगठन निर्माणको आवश्यकता निरन्तर उठिरहेको भन्दै उनले पार्टीका सबै तह र पुस्ताका नेता–कार्यकर्तालाई संवाद, सहकार्य र साझा उद्देश्यका आधारमा एउटै सूत्रमा जोड्नु आफ्नो प्राथमिकता हुने बताए। महाधिवेशनका क्रममा प्राप्त हुने सुझाव, विचार, संवाद र सहकार्यलाई आगामी राजनीतिक यात्राको महत्वपूर्ण आधारका रूपमा लिएको पाण्डेको भनाइ छ। उनले कांग्रेसका सम्पूर्ण महाधिवेशन प्रतिनिधि, पार्टी सदस्य, शुभेच्छुक तथा शुभचिन्तकको साथ र सहयोगबाट आफू उपसभापति पदमा निर्वाचित हुने विश्वास व्यक्त गरे।

कास्कीका जीवन परियारले पनि सोही पदमा उमेद्वारी दर्ता गराएका छन् । कास्कीबाट उपसभापति पदमा निवर्तमान सहमहामन्त्री जीवन परियार र प्रवक्ता रहेका देवराज चालिसेले दावी गरेका छन् । त्यसैगरी सहमहामन्त्री खुलातर्फको क्लस्टरमा कास्की कांग्रेसका सभापति किशोरदत्त बरालले उमेदवारी दिने तयारी गरेका छन् । कास्कीबाट केन्द्रीय सदस्यमा गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा, युवा उद्यमी कास्कीका किरण केसी, लक्ष्मी पाण्डे, नम्रता बराल, सरिता तिमिल्सिना पंगेनी, मीनबहादुर गुरुङ, देवीजङ्ग गुरुङ र युवा क्लस्टरमा सौगात थापाले उमेदवारी दिने तयारी गरेका छन् । महाधिवेशनमा कास्कीबाट १०९ जना महाधिवेशन प्रतिनिधि सहभागी छन् । जसमा कास्की क्षेत्र नं. १ बाट ३१ जना, २ मा ३८ जना र क्षेत्र नं. ३ बाट ४० जना सहभागी रहेको निर्वाचन समितिले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।