नेपाली कांग्रेस कास्कीका नेता सुवास सिग्देलले पार्टीभित्रको लोकतान्त्रिक संस्कारमाथि नै प्रश्न उठाएका छन् ।
कास्की क्षेत्र नं. २ को क्षेत्रीय निर्वाचनका क्रममा भएको अनियमितताको छानविनको माग गर्दै निवेदन दिएका उनले निर्वाचनमा भएको विधि उल्लङ्घन, कथित फर्जी मत प्रयोगका बिषयमा प्रमाणसहित उजुरी दिदा पनि पार्टी नेतृत्वले मौनता देखाएका भन्दै गुनासो गरेका छन् । बुधबार एक विज्ञप्ति जारी गदै क्षेत्रीय सभापतिका उमेद्वारसमेत रहेका नेता सिग्देलले प्रमाणसहित प्रस्तुत गरिएको उजुरीलाई सम्बोधन गर्नुको सट्टा त्यसलाई बेवास्ता गर्ने, निर्णय प्रक्रियालाई अनिश्चित बनाउने र न्यायको माग गर्ने पार्टीका निष्ठावान् कार्यकर्तालाई नै पाखा लगाउने प्रवृत्ति देखिनु आफैंमा पार्टीभित्रको लोकतान्त्रिक संस्कारमाथिको गम्भीर प्रहार भएको जनाएका हुन् । उनले निर्वाचनजस्तो लोकतन्त्रको आधारभूत अभ्यासलाई प्रश्नको घेरामा पार्ने, विधि र विधानलाई कुल्चिने तथा गम्भीर उजुरीलाई राजनीतिक पहुँच र शक्तिको आडमा पन्छाउने प्रवृत्ति देखिनु अत्यन्तै गम्भीर र आपत्तिजनक विषय भएको उल्लेख गरेका छन् । विज्ञप्तिमा भनिएको छ — ‘यस्तो गम्भीर विषयमा निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नु पार्टी नेतृत्व र निर्वाचन समितिको न्यूनतम दायित्व हो। तर, प्रमाणसहित प्रस्तुत गरिएको उजुरीलाई सम्बोधन गर्नुको सट्टा त्यसलाई बेवास्ता गर्ने, निर्णय प्रक्रियालाई अनिश्चित बनाउने र न्यायको माग गर्ने पार्टीका निष्ठावान् कार्यकर्तालाई नै पाखा लगाउने प्रवृत्ति देखिनु आफैंमा पार्टीभित्रको लोकतान्त्रिक संस्कारमाथिको गम्भीर प्रहार हो।’
केन्द्रीय सभापति गगन कुमार थापा, महामन्त्रीद्वय गुरुराज घिमिरे र प्रदीप पौडेल तथा केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्कालाई पटक–पटक ध्यानाकर्षण गराउँदा समेत हालसम्म कुनै स्पष्ट, पारदर्शी र न्यायोचित निर्णय नआएको नेता सिग्देलले बताए । केन्द्रीय प्रवक्ता देवराज चालिसेबाट समेत विषयको गम्भीरतालाई सम्बोधन गर्ने कुनै स्पष्ट धारणा सार्वजनिक नहुनुले नेतृत्वको जवाफदेहितामाथि स्वाभाविक रूपमा प्रश्न उठाएको उनले जनाएका छन् ।उनले भने, ‘नेतृत्वको मौनता अब तटस्थता होइन । जब विधि उल्लङ्घनको प्रश्न उठ्छ, प्रमाणसहित उजुरी पर्छ र त्यसको निष्पक्ष छानबिन हुँदैन भने मौनता स्वयंले अन्यायलाई बल पु¥याउने अवस्था सिर्जना गर्छ। उनले नेतृत्वसँग ५ वटा प्रश्न समेत गरेका छन् ।पार्टीभित्र विधि चल्छ कि व्यक्ति? विधान चल्छ कि पहुँच? न्याय चल्छ कि गुट? लोकतन्त्र चल्छ कि संरक्षणवाद? भन्ने प्रश्न उठाएका छन् ।’ उनले आज उठाइएका प्रश्नहरू भोलि अझ व्यापक राजनीतिक प्रश्न बन्नेछन् र त्यसको सम्पूर्ण नैतिक जिम्मेवारी सम्बन्धित नेतृत्वले लिनुपर्ने समेत बताएका छन् । विज्ञप्तिमा उनले यो संघर्ष कुनै पदका लागि नभई विधिका लागि र कुनै व्यक्तिविरुद्ध नभई गलत प्रवृत्तिविरुद्ध भएको पनि स्पष्ट पारे ।
नेता सिग्देलले भने, ‘पार्टीभित्र विधि मिचिन्छ भने म बोल्नेछु, न्याय दबाइन्छ भने म प्रश्न गर्नेछु,अनियमितता ढाकछोप गरिन्छ भने म प्रमाणसहित आवाज उठाउनेछु र नेतृत्वले मौनता रोजे पनि म आफ्नो आवाज रोक्ने छैन। भनेका छन् । विधिको शासनका लागि मेरो लडाइँ आजबाट सुरु भएको होइन र नेतृत्वको मौनताका कारण अन्त्य हुने पनि छैन। आवश्यक परे यो संघर्ष जीवनभर जारी रहनेछ। नेपाली कांग्रेसलाई व्यक्ति, गुट र संरक्षणवादको होइन— विधि, विधान, न्याय र लोकतन्त्रको पार्टी बनाऔँ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असोज २१ सर्वोच्च अदालतले गण्डकी सरकारलाई दीर्घकालीन महत्वको निर्णय गर्न…







