भारतको हरियाणास्थित सोनीपत जिल्ला प्रेस क्लबका पत्रकारहरूसँग प्रेस रजिष्ट्रारको कार्यालयमा पत्रकारितासम्बन्धी अनुभव आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी प्रमुख सचिव आभा श्रेष्ठ कर्णले राज्यको चौथो अङ्गका रूपमा रहेका भारतीय पत्रकारहरूलाई गण्डकी प्रदेशमा स्वागत गर्न पाउँदा खुसी व्यक्त गरिन । भारतबाटै एमबिएको उच्च शिक्षा हासिल गरेको प्रसङ्ग जोड्दै उनले हरियाणाको स्मरण गरिन । मायाको चिनो प्रदान गर्दै प्रमुख सचिव कर्णले यस्ता भ्रमणले नेपाल र भारतबीचको पत्रकारिता, सामाजिक सरोकार र मानवीय सम्बन्धलाई थप सुदृढ बनाउन मद्दत पुग्ने जनाइन् । कार्यक्रममा प्रेस रजिष्ट्रार कार्यालयका उपसचिव प्रभाकर घिमिरेले भारतीय पत्रकार टोलीलाई खादा ओढाएर सम्मान गरेका थिए । सञ्चारकर्मी सुरेश रानाभाटले गण्डकी प्रदेशको पत्रकारिताका विद्यमान चुनौती, समस्याका साथै प्रेस रजिष्ट्रारको कार्यालयको स्थापना, भूमिका र हालसम्मका गतिविधिबारे भारतीय पत्रकारलाई जानकारी दिएका थिए ।
अन्तरक्रियामा क्लबका अध्यक्ष राजेशकुमार खत्री, संस्थापक अध्यक्ष पवन बंसल, महासचिव सुखवीर सैनी र कोषाध्यक्ष श्यामसुन्दर वशिष्टले आफ्ना अनुभव साझा गरेका थिए । त्यसैगरी, भारतीय सञ्चारकर्मीहरू अनिल खत्री गोहना, अरुण दूहन कटवाल, संजीव घनगस, सुनील कुमार खरखौदा, जसवीर सिंह खत्री, श्याम सुन्दर शर्मा, कुलदीप सिंह र उपाध्यक्ष रवीन्द्र वर्माले अन्तरक्रियाले सकारात्मक पत्रकारिताको सन्देश प्रवाह गरेको धारणा राखे ।
क्लबद्वारा काठमाडौँमा आयोजित एक कार्यक्रममा प्रेस रजिष्ट्रार बिमला भण्डारीलाई सम्मान गरिएको थियो पोखरामा भने प्रेस क्लब सोनीपतले पत्रकारिता, साहित्य तथा सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका गण्डकी प्रदेशका विभिन्न ११ जना व्यक्तित्वलाई सम्मान गरेको जानकारी महासचिव सुखवीर सैनीले दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा — पोखरा महानगरपालिका–१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर…







