पोखरामा आर.यू फेस्ट सुरु, फोहोरबाट आम्दानी र रोजगारी सिर्जना गर्ने प्रयासमा पोखरा


     एभरेस्ट आवाज    
     मंसिर २ गते २०८३ मा प्रकाशित




पोखरा — फोहोरलाई पुनःप्रयोग र प्रशोधनमार्फत आम्दानीको स्रोत बनाउने उद्देश्यसहित पोखरामा आरयू (रिसाइकल तथा अपसाइकल) फेस्ट सुरु भएको छ। कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को आर्थिक तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को प्राविधिक सहयोगमा सञ्चालित परियोजनाअन्तर्गत उत्पादित सामग्रीको प्रदर्शनी गर्दै बुधबारदेखि फेस्ट आयोजना गरिएको हो।
‘रिथिंक २०२६ : फ्रम वेस्ट टु वर्थ’ नारासहित सुरु भएको फेस्टको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरे। दुई दिनसम्म सञ्चालन हुने फेस्टमा घरेलु फोहोर र प्रयोगविहीन सामग्रीबाट निर्माण गरिएका विभिन्न वस्तु प्रदर्शनमा राखिएका छन्।
उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले फोहोरलाई समस्याका रूपमा मात्र नहेरी त्यसबाट सिर्जना गर्न सकिने सामाजिक, आर्थिक र वातावरणीय अवसरको उपयोग गर्नुपर्ने बताए। पुनःप्रयोग र पुनर्चक्रणमार्फत फोहोरलाई उपयोगी सामग्रीमा रूपान्तरण गर्दा वातावरण संरक्षणसँगै रोजगारी र उद्यमशीलता विकास हुने उनको भनाइ थियो। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फेस्टले रिसाइकल तथा अपसाइकल उद्यमलाई बजारसँग जोड्ने र बिक्रीका अवसर सिर्जना गर्ने बताए। रिसाइकलर, अपसाइकलर, पर्यटन क्षेत्र, निजी कम्पनी तथा सर्वसाधारणबीच सहकार्य विस्तार गर्नु कार्यक्रमको उद्देश्य रहेको उनले जानकारी दिए।
महानगरले पोखरामा ग्रिन भेन्चर जोन (जीभीजेड) अवधारणालाई प्रवर्द्धन गर्दै उद्यमी तथा नवप्रवर्तक विद्यार्थीलाई लगानी र व्यवसाय विस्तारका अवसरसँग जोड्ने योजना बनाएको छ।
फेस्टमा १४ फिट अग्लो विशाल टेडी बियर ‘रुरु’ आकर्षणका रूपमा राखिएको छ। फालिएका कपडा तथा प्रयोग भइसकेका सामग्रीबाट म्युज नेपालले बाँसको भित्री संरचना प्रयोग गरी निर्माण गरेको रुरु यसअघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, भाटभटेनी, रानीपौवा र गौरीघाट पार्कलगायत सार्वजनिक स्थलमा प्रदर्शन गरिएको थियो। महानगरपालिकामा सञ्चालित रिसाइक्लिङ तथा अपसाइक्लिङमार्फत हरित रोजगारी सिर्जना परियोजनामा झण्डै एक अर्ब ४४ करोड ८७ लाख रुपैयाँ लगानी गरिएको छ। परियोजनाअन्तर्गत जीभीजेड सेन्टर स्थापना गरी फोहोर प्रशोधनबाट विभिन्न सामग्री उत्पादन भइरहेको छ।
महानगरका ३३ वटै वडामा १ सय ३६ सामुदायिक समूह गठन गरेर रिसाइक्लिङ तथा अपसाइक्लिङमार्फत सामग्री निर्माण भइरहेको छ। परियोजना पाँच वर्षसम्म कोइका र युएनडिपीले सञ्चालन गर्ने र त्यसपछि सन् २०२७ मार्च २७ मा पोखरा महानगरपालिकालाई हस्तान्तरण गर्ने योजना छ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले फेस्टले उद्यमको बजार पहुँच बढाउनुका साथै निजी क्षेत्र र पर्यटन क्षेत्रबीच सहकार्य विस्तार गर्ने अपेक्षा गरिएको बताए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।