फोहोरलाई मोहरमा बदल्दै रोजगारी सिर्जना गर्न भोलिदेखि दोस्रो आरयू फेष्ट पोखरामा हुँदै


     एभरेस्ट आवाज    
     मंसिर १ गते २०८३ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, मंसिर १

पर्यटकीय राजधानी पोखरामा भोलिदेखि आरयू फेष्ट हुने भएको छ । रिसाइक्लिङ र अपसाइक्लिङमार्फत हरित रोजगारी सिर्जना परियोजना (जिसीआरयू) अन्तर्गत पोखरा–६ बुलौंदीस्थित ईभेन्ट सेन्टरमा मंसिर २ गते भोलि बुधबार र मंसिर ३ गते पर्सी विहीबार आरयु फेष्टको दोस्रो संस्करण हुन लागेको मंगलबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो ।

पोखरामा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)को आर्थिक सहयोग तथा संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) को प्राविधिक सहयोगमा रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजना चलिरहेको छ । सोहि परियोजना सञ्चालन अन्तर्गत उत्पादित सामग्रीहरुको आरयू फेष्ट गर्न लागेको पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्यले जानकारी दिए ।

आरयू फेष्टमा फोहोरबाट कसरी सामान उत्पादन गरिन्छ भन्नेबारे प्रत्यक्ष अवलोकन गर्नुका साथै फोहोरबाट उत्पादित सामग्रीको प्रदर्शनी पनि गरिने जनाइएको छ । फेष्टमा दीगो फोहोर व्यवस्थापनका उपायबारे सचेतना जगाउँदै चक्रीय अर्थतन्त्र र प्लास्टिक प्रदूषण न्यूनीकरणका विषयमा जानकारी गराईने मेयर आचार्यले जानकारी दिए । ‘महोत्सवबाट रिसाइकलर, अपसाइकलर, पर्यटन क्षेत्र, निजी कम्पनी र आम नागरिकबीचको सम्बन्ध मजबुत हुने अपेक्षा छ’–उनले भने । रिसाइकल र अपसाइकल उद्यमलाई बजारसम्मको पहुँच पु¥याउन महोत्सव सहयोगी बन्ने महानगरको अपेक्षा रहेको उनले स्पष्ट पारे । मेयर आचार्यले भने,‘महोत्सवमार्फत नै बजार पहुँच बढ्ने हाम्रो अपेक्षा छ ।’

आरयू फेष्टमा १४ फिट अग्लो विशाल टेडी बियर ‘रुरु’ राखिने भएको छ । जुन फालिएका कपडा तथा प्रयोग भइसकेका सामग्रीबाट म्युज नेपालले निर्माण गरेको रुरु बाँसको भित्री संरचनामा तयार पारिएको सामग्री हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, भाटभटेनी, रानीपौवा र गौरीघाट पार्कलगायतका सार्वजनिक स्थलमा प्रदर्शन गरिएको रुरुलाई महोत्सवका दुबै दिन प्रदर्शनमा राखिने जनाइएको छ ।

फेष्ट विद्यार्थीका लागि सिकाइ र अनुभव साटासाट गर्ने थलो बन्ने आयोजकको अपेक्षा छ । पोखरामा ग्रीन भेन्चर जोनको अवधारणालाई अघि बढाउन आरयू फेष्ट महत्वपूर्ण हुने पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले बताए । ‘आरयू फेष्ट उद्यमी र नवप्रवर्तक विद्यार्थीलाई लगानीसँग जोड्ने एउटा प्लेटफर्म बनाईनेछ’–उनले भने ।

दैनिक जीवनमा प्रयोगहीन सामाग्रीहरू रिसाइक्लिङ र अपसाइक्लिङ गरी हरित रोजगारी सिर्जना सहित चक्रीय अर्थतन्त्रको निर्माणमा नयाँ ज्ञान, सीप र मार्गदर्शन प्रदान गर्नु आरयू फेष्टको उद्देश्य रहेको आयोजकले जनाएको छ ।

पोखरामा कोइकाको आर्थिक सहयोग तथा युएनडिपीको प्राविधिक सहयोगमा रिसाइक्लिङ र अपसाइक्लिङमार्फत हरित रोजगारी सिर्जना परियोजना सञ्चालनमा आएको छ । यसमा झण्डै एक अर्ब ४४ करोड ८७ लाखको लगानीमा फोहोर प्रशोधनमार्फत रिसाइक्लिङ र अपसाइक्लिङ अन्तर्गत जिभिजेड सेन्टर स्थापना गरेर फोहोरबाट विभिन्न सामग्री निर्माण उत्पादन भइरहेको छ । यस परियोजना ५ वर्षसम्म कोइका र युएनडिपीले नै सञ्चालन गर्नेछ भने त्यसपछि सन २०२७ को मार्च २७ मा पोखरा महानगरलाई हस्तान्तरण गर्ने मेयर आचार्यले जानकारी दिए ।

पोखराको प्रदर्शनी केन्द्रमा उत्पादित सामग्रीहरु प्रदर्शनीमा राखिएको छ भने पोखरा महानगरपालिकाका ३३ वटै वडाहरुमा १३६ वटा सामुदायिक समूहहरु निर्माण गरेर रिसाइक्लिङ र अपसाइक्लिङमार्फत सामग्री निर्माण भइरहेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।