पोखराका बिभिन्न स्थानबाट विद्युतको तार चोरी


     एभरेस्ट आवाज    
     मंसिर ५ गते २०८३ मा प्रकाशित




शिशिर उजाड
पोखरा

पोखरामा विद्युतको तार नै चोरी भएको छ ।

नेपाल विद्युत प्राधिकरणले बिस्तार गरेको विद्युत लाईनबाटै चालु अवस्थामा रहेको तार चोरी भएको प्राधिकरण, पोखरा वितरण केन्द्रले जनाएको छ । बिहिबार पोखराका बिभिन्न ५ स्थानमा कपर जडित तार नै चोरी भएको केन्द्रका प्रमुख जितेन्द्र यादवले जानकारी दिए । उनका अनुसार पोखरा १८, धारापानी मार्ग, पोखरा २५ का बास्कोट,झिर्झिका,सुईखेत,हेमजाको चाक्ले कुना र फेदीबाट ट्रान्सफर्मरमा जडान गरिएको करिब ३० केजी तार चोरी भएको हो । धारापानी मार्गमा भने एक महिना अघि मात्रै ट्रान्सफर्मर जडान गरिएको थियो ।स्थानीयको माग अनुसार विद्युत क्षमता बढाउन त्यस क्षेत्रमा थप ट्रान्सफर्मर जडान गरिएको उनले बताए । आफुहरुलाई नो लाईटको कर्मचारी बताउने समूहले तार चोरी गरेको स्थानीयले बताएका छन् । दिउँसै उक्त समूह तार चोरीमा संलग्न रहेको उनीहरुको भनाई छ ।

केन्द्र प्रमुख यादवले चोरीमा संलग्न व्यक्ति, आफ्ना कर्मचारी नरहेको स्पष्ट पार्दै, प्रहरीसँग समन्वय गरेर चोरीमा संलग्न समूहको खोजी भईरहेको बताए । प्रमुख यादवले भने– ‘पटक पटक तार चोरी हुँदा, विद्युत प्रवाहमा समस्या भएको छ ।’ अघिल्लो बर्ष पनि पोखराका बिभिन्न ठाउँमा तामाको तार चोरी भएको थियो ।ग्यारजाती, सुन्दर चौतारा,पदेंली,पोख्रेल थोक, अन्नपुर्ण गाउँपालिकाको अधिकारी डाँडा र पुम्दीभुम्दीका ट्रान्सफर्मरमा जडान गरिएको तामाको तार नै अपरिचित समूहले चोरी गरेको थियो । निरन्तर रुपमा तार चोरी गर्ने क्रम बढेपछि प्राधिकरणले सुचना नै निकालेर विद्युत सेवा उपलब्ध गराउने स्थानका ट्रान्सफर्मर क्षेत्र वरपर अपरिचित व्यक्ति देखिएमा वा भेटिएमा जानकारी गराउन अनुरोध समेत गरेको थियो।

केन्द्रका ग्रामीण शाखा ईन्चार्ज शोभाकर पौडेलले चोरीका घटनाले तार र ट्रान्सफर्मरको सुरक्षामा चुनौती देखिएको बताए । प्राधिकरणले तार चोरीका घटना निरन्तर रुपमा बढेको भन्दै, ट्रान्सफर्मर जडान गरिएको क्षेत्रमा सुरक्षा माग गरेको छ। यस्ता कार्यले उपभोक्तालाई भरपर्दो र सहज सेवा दिन कठिनाई हुने समेत जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।