ज्योतिष महाकवि रामनाथ अधिकारी संगीद्वारा रचित बलराम महाकाव्य पोखरामा लोकार्पण गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि छन्द बचाऊ अभियानका संयोजक छन्दनायक साहित्यकार माधव वियोगीले उक्त कृतिको लोकार्पण गरे । कृति लोकार्पण गर्दै प्रमुख अतिथि वियोगीले राष्ट्र र समाजका लागि योगदान दिने व्यक्तित्वको महाकाव्य लेख्ने परम्परा अनुसार बलराम महाकाव्य लेखिएको बताए । महाकाव्यनायक प्रा.डा बलराम उपाध्याय रेग्मीले १० रूपैयाँ लिएर घर छोडेर हिँडेको शैक्षिक क्रान्तिको उपलब्धि बलराम महाकाव्य आज समाजका लागि पठनीय काव्यको विषय बनेर आएको धारणा राखे । महाकाव्यकार रामनाथ अधिकारी संगीले वियोगीको प्रेरणाले महाकाव्य लेखन यात्रा शुरु गरेर हालसम्म १७ महाकाव्य लेख्न सफल भएको धारणा राख्दै संस्थाकातर्फबाट गरिएको सम्मानले थप सिर्जनायात्रामा लाग्न प्रेरणा मिलेको बताए ।
सिद्धार्थ खण्डकाव्य (२०४२, पछिल्लो संस्करण (२०८०) को समीक्षा गर्दै प्राडा. यमनाथ तिमिल्सिनाले तीन घण्टामा काव्य लेख्न सक्ने क्षमताले बलराम उपाध्यायको काव्यिक व्यक्तित्वलाई प्रष्टयाएको बताए । बलराम महाकाव्यको समीक्षा गर्दै साहित्यकार÷पत्रकार असफल गौतमले सत्ययुगका बलरामका साक्षातस्वरूप कलियुगका बलराम भएको दृष्टान्त पेश गर्दै लक्ष्मी र सरस्वतीको बासले प्राप्त प्राप्तिको दस्तावेजका रूपमा महाकाव्य बजारमा आएको बताए । अग्रज पत्रकार केशवराज भण्डारीले राष्ट्रिय धर्मसभा नेपालका तीन पात्रको त्रिवेणीकारूपमा कार्यक्रम रहेको देख्न पाउँदा खुशी लागेको धारणा राखे । अधिवक्ता कृष्णप्रसाद चापागाईले एक पारखी र पौरखी ज्योतिषीको योगदान अर्का ज्योतिषीद्धारा कदर भएको देखेर खुशी लागेको बताए ।
कार्यक्रममा पोखरा चिसाखोला वेदविद्याश्रमका अध्यक्ष मणिरत्न अधिकारी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष पूर्णचन्द्र रेग्मी, निवृत्त प्राध्यापक समाज पोखराका अध्यक्ष सह–प्राध्यापक कृष्णप्रसाद पौडेल, साहित्यकार प्रा.डा. यमबहादुर पौडेल क्षेत्री, जयलाल पौडेल, शंकर ज्ञवाली, पत्रकार भिम भण्डारी, ज्योतिष परिषद नेपाल गण्डकी प्रदेशका अध्यक्ष डा हरिश्चन्द्र भण्डारीलगायतले आफ्ना मन्तव्य राखेका थिए । राष्ट्रिय धर्मसभा नेपाल कास्कीका अध्यक्ष पं. मोक्षनाथ तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ज्योतिषी धना शर्माको स्वागत मन्तव्य र वेदाचार्य गंगासागर उपाध्यायको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, मंसिर १० एभरेस्ट मिडिया हाउसको आयोजनामा मंसिर १२ शनिबार रक्तदान कार्यक्रम…







