कास्केली दुग्ध उत्पादक किसानले भने : दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुर्याईयोस्, अन्यथा मंसिर १६ गतेबाट आन्दोलन


     एभरेस्ट आवाज    
     मंसिर १० गते २०८३ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, मंसिर १०

कास्कीका दुग्ध उत्पादनक किसानहरुले दूधको मूल्य बढाउन माग गरेका छन् । कास्कीका दुग्ध उत्पादक किसानहरुको संस्था सप्त गण्डकी दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले बुधबार पोखरामा पत्रकार सम्मेलन गरि दूधको मूल्य ६५ रुपैयाँबाट बढाएर ८० रुपैयाँ कायम गर्न माग गरेका हुन् । साथै दुग्ध उत्पादक किसानले बिक्री गरेको दूधको रकम समयमै भुक्तानी हुने व्यवस्था गर्न, पशु स्वास्थ्य सेवा, नियमित खोप, आवश्यक औषधोपचार तथा पशु आहारमा सहुलियत उपलब्ध गराउन पनि सरकारसँग माग गरिएको छ । पशुपालन व्यवसायलाई जोखिममुक्त र दिगो बनाउन पशु बिमा तथा रोग नियन्त्रण कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न पनि उनीहरुको माग छ ।

दुग्ध उत्पादनको लागत बढिरहे पनि दूधको मूल्य नबढ्दा किसान मारमा परेको भन्दै संस्थाले दूधको मूल्य नबढाए आगामी मंसिर १६ गतेबाट आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ । भौगोलिक अवस्था, पशु आहार र श्रमको मूल्य बढेर उत्पादन लागतले आकाश छोएका कारण दूधको मूल्य बढाउन माग गरिएको सहकारी संघका अध्यक्ष नवराज बरालले बताए । पशुआहारमा प्रयोग हुने दानाको मूल्य पछिल्लो २ महिनामा मात्र ७ रुपैयाँ बढेको र समग्रमा दानाको मूल्य २५ प्रतिशतले बढ्दा पनि दूधको मूल्य उहि हुँदा किसान घाटामा परेर पलायन हुन थालेको उनले बताए । उनका अनुसार दूध उत्पादनको लागत मूल्य नै ६९ रुपैयाँ ५० पैसा परिरहेको छ । तर किसानले ६५ रुपैयाँ दूध बेचिरहेकाले किसान मारमा परेको उनको दाबी छ । दूध उत्पादनको लागत बढ्दै जाने तर उचित मूल्य नपाउने अवस्था कायम रहे दुग्ध उत्पादन क्षेत्रमा संकट आउने उनले चेतावनी दिए । ‘दुग्ध व्यवसायबाट किसान विस्थापित हुँदा उत्पादन घट्ने, रोजगारी गुम्ने र ग्रामीण अर्थतन्त्र प्रभावित हुनसक्छ’–उनले भने ।

दूधको मूल्य कम्तीमा ८० रुपैयाँ कायम गर्नुपर्ने संघको ठहर छ । मंसिर १० गतेसम्मको म्याद दिएर दूधको बढाउन दवाब दिइए पनि सरकारले अटेर गरेकाले मंसिर १६ गतेबाट आन्दोलनमा जानुको विकल्प नभएको उनले बताए । अहिलेको मूल्यले उत्पादन लागतसमेत उठाउन नसक्ने अवस्था सिर्जना भएको छ, अध्यक्ष बरालले भने,‘यसले किसान पलायनतर्फ उन्मुख छ । जसका कारण उत्पादन घट्दै गएको छ भने दूधमा परनिर्भरता थपिदो छ ।’

पछिल्लो २ वर्षदेखि दूधको मूल्य बढाउन आग्रह गर्दै आए पनि सरकारले बेवास्ता गरेका कारण आन्दोलनमा जानुपर्ने अवस्था आएको अध्यक्ष बरालले बताए । हामीले बारम्बार दूधको मूल्य बढाउन आग्रह गरिरहेका छौं,उनले भने,‘तर सरकारले बेवास्ता गरिरहेको छ । मंसिर १० गतेसम्म नबढाए पछि हामी मंसिर १६ गतेबाट आन्दोलनमा जाँदैछौं ।’ उनले दुग्ध उत्पादक किसानको आन्दोलन यसपटक सृजनात्मक हुने बताए । पहिलेजस्तो हामी दूध खन्याएर आन्दोलन गर्दै छैनौं,उनले भने,‘दूध पोखेर होईन, गोबर र पराल बोकेर यस पटक आन्दोलनमा उत्रिन्छौं ।’

पत्रकार सम्मेलनमा उपस्थित किसान कृष्णप्रसाद अधिकारीले सरकारले दुग्ध उत्पादक किसानको समस्या बुझ्न नसकेको गुनासो गरे । आखिर सरकार किन यसो गर्दैछ ? उनले भने,‘किसानले सँधै दुःख गर्ने, अनि मूल्यका लागिचाहिं सरकारको मुख ताक्नुपर्ने स्थितिको अन्त्य गरियोस् ।’

अर्का किसान सकुन्तला ढकाल अधिकारीले लागत मूल्य अनुसार दूधको वैज्ञानिक मूल्य निर्धारण सरकारले गरिदिनुपर्ने बताईन् । आज किसान दूधको मूल्य नपाएर पलायन भइरहँदा आफूखुशी बेच्नेले भने दोब्बर मूल्यमा बेचिरहेको बताईन् । भनिन्,‘किसानले उचित मूल्य पाउनेगरी दूधको मूल्य निर्धारण होस् ।’

कास्कीमा सप्तगण्डकी दुग्ध उत्पादक सहकारी संघ लिमिटेडअन्तर्गत ४२ वटा दुग्ध उत्पादक सहकारी संस्था आबद्ध रहेको जनाइएको छ । ती सहकारीमार्फत करिब पाँच हजार पाँच सय किसान परिवार जोडिएको अध्यक्ष बरालले जानकारी दिए । उनका अनुसार कास्की जिल्लामा मात्रै करिब ११ हजार पाँच सय घरपरिवार दुग्ध उत्पादन क्षेत्रमा संलग्न रहेको बताईन्छ ।

कास्कीमा दैनिक एक लाख लिटर दूध उत्पादन हुने गरेको छ । जसमध्ये सहकारीमार्फत करीब ३० हजार र किसान आफैले ७० हजार लिटर दूध बिक्री गर्दछन् । कास्कीमा अपुग दूध भैरहवा, नवलपुर, चितवनलगायतका जिल्लाबाट आयात हुने गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।