पोखरामा शनिबार दाईं महोत्सव हुने


     एभरेस्ट आवाज    
     मंसिर १० गते २०८३ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, मंसिर १०

पोखरामा आउँदो शनिबार दाईं महोत्सव हुने भएको छ । पोखरा महानगरपालिका र पोखरा पर्यटन परिषदको संयुक्त आयोजना तथा नेपाल पर्यटन वोर्डको प्रवद्र्धनमा यहि माघ १२ गते शनिबार ‘तेस्रो दाईं महोत्सव–२०८३’ हुन लागेको बुधबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो ।

कृषि र पर्यटनलाई जोड्ने उद्धेश्यले आयोजित दाईं महोत्सव पोखरा–२९ नौबिसे सिसुवामा गर्न लागिएको आयोजक पोखरा पर्यटन परिषदका अध्यक्ष हरि भुजेलले जानकारी दिए । दाईं महोत्सव हुने स्थल रोपाईं महोत्सव भएकै स्थान नजिक रहेको छ । परिषदले प्रत्येक वर्ष असार १५ मा रोपाईं महोत्सव पनि आयोजना गर्दै आएको छ ।

शनिबार विहान ९ बजेदेखि हुने दाईं महोत्सवमा धान चुट्ने, धानको राश बनाउने र बत्ताउने कार्य हुनेछ । दाई महोत्सवमा चार हल गोरुले दाईं हालिनेछ भने १७ जना दँदेराहरुले गोरु धपाउने, दँदेरा लगाउने, पराल बाँध्ने, परालको कुनियो लगाउनेलगायतका कार्य गरिने अध्यक्ष भुजेलले जानकारी दिए । परम्परागत दाईंको झल्को दिन खाजा र खानापनि परालमाथि र बारीको पाटामा बसेर खाने व्यवस्था गरिने उनले बताए ।

दाईं महोत्सवमा स्वदेशी पर्यटकसँगै विदेशी पर्यटकपनि सहभागी गराईने कार्यक्रम संयोजक हरिराम अधिकारीले जानकारी दिए । उनका अनुसार हालसम्म ५० जना विदेशीले दाईं महोत्सवमा सहभागी हुनका लागि नाम टिपाईसकेका छन् । अझै पनि नाम टिपाउने कार्य भइरहेकाले पर्यटकको संख्या बढ्ने उनको अनुमान छ । दाईं महोत्सवमा विभिन्न विद्यालयका विद्यार्थीदेखि सर्वसाधारण्मा पनि सहभागी हुने उनले जानकारी दिए ।

मौलिक तथा परम्परागत दाईंको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित महोत्सवको अवसरमा दँदेरा लगाउने, गुन्द्री बुन्ने, लठ्ठो तान्नेलगायतका प्रतियोगितासमेत हुने संयोजक अधिकारीले जानकारी दिए । सो अवसरमा प्रतियोगितामा बिजेता भएका तथा सबैभन्दा धेरै धान उत्पादन गर्ने किसानलाईसमेत पुरस्कृत गरिने उनले बताए ।

लोपोन्मुख अवस्थामा पुगेको गोरुले दाईं गर्ने परम्परा संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले बताए । ‘किसानलाई प्रोत्साहित गर्दै कृषि र पर्यटनलाई जोड्ने उद्धेश्य हो हाम्रो’–उनले भने ।

पोखरा महानगरपालिकाका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले दाईं महोत्सवमार्फत परम्परागत कृषि प्रणालीलाई जोड दिदै गोरु पाल्न किसानलाई प्रोत्साहित गरिएको बताए ।

नेपाल पर्यटन वोर्डका सदस्य सन्तोष पोखरेलले परम्परागत कृषिलाई पर्यटनसँग जोड्दै समृद्धि हासिल गर्न सकिने बताए । जति धेरै ईभेन्ट गर्यो, त्यति नै पर्यटक बढ्ने बताउँदै उनले भने,‘सडक महोत्सव हेर्न जसरी क्यालेन्डर बनाएरै पर्यटक आउँछन्, त्यसरी नै दाईं महोत्सव हेर्न पनि आउने बनाउनुपर्छ र त्यो सम्भव छ ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।