पोखरा, पुस १५
पोखराको लेखनाथमा पुस १८ गतेदेखि लेखनाथ महोत्सव हुने भएको छ । लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा आगामी माघ १ गतेसम्म २० औं संस्करणको लेखनाथ महोत्सव आयोजना हुने भएको हो । महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजक लेखनाथ उद्योग वाणिज्य संघले सोमबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी सह–आयोजक रहेको महोत्सव पोखरा महानगरपालिका वडा नम्बर २७ डाँडाको नाक, तालचोकमा सञ्चालन हुनेछ । महोत्सव उद्घाटनअघि झाँकी प्रदर्शनी तथा विभिन्न जातजातिको रितीरिवाज तथा सांस्कृतिक प्रर्दशनी गरिने जनाइएको छ । महोत्सव अवधीभर नै झाँकी तथा सांस्कृतिक प्रदर्शनी एवम रत्यौली गीत कार्यक्रम पनि हुने जनाइएको छ ।
‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन, विकास र समृद्धि’ भन्ने नाराका साथ हुने महोत्सवमा कुल ३ सय ३६ वटा स्टल रहने संघका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए । उनका अनुसार महोत्सवमा अटोका ६ वटा, शैक्षि तथा ग्रामिण प्रविधि सम्बन्धी १२ वटा, कृषिका ३६ वटा, किचनका २५ वटा, मेसिनरीका १० वटा स्टल रहनेछन् । त्यस्तै, हस्तकलाका १६, गार्मेन्ट तथा रेडिमेडका १०८, जनरल २६, फुड एण्ड बेभरेजका १६, डेरीका ९, नेपाली उत्पादन सामग्रीका २२ स्टल रहेको उनले बताए । त्यसबाहेक खाना तथा खाजाका १७, बैंक तथा वित्तीय संघसंस्था र प्रायोजकका गरेर ३३ वटा स्टल रहने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
महोत्सवको उद्देश्य अर्थतन्त्र चलायमान गराउँदै स्थानिय उत्पादनको प्रवद्र्धन गर्नु रहेको संघले जनाएको छ । संघका अध्यक्ष श्रेष्ठले स्थानीय कृषि तथा औद्योगिक उत्पादनको प्रवद्र्धन, हस्तकलाका वस्तुहरुको बजार प्रवद्र्धन तथा पहिचान, लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन, आवश्यक ज्ञान, सिप र प्रविधि हस्तान्तरण, उद्यमशीलता, सृजनशीलतामा जोड दिनु महोत्सवको मुख्य उद्देश्य रहेको बताए । यस्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुलुकहरुमा उत्पादित वस्तु तथा सेवाहरुको प्रदर्शनी, जातिय भेषभूषा, कला संस्कृति, रितिरिवाजको जगेर्ना, नवप्रतिभा प्रस्फुटन साथै आन्तरिक एवम् बाह्य पर्यटक प्रर्वद्धन गर्ने महोत्सवको उद्देश्य रहेको उनको भनाई छ ।
लेखनाथ क्षेत्रमा उत्पादित सुन्तला, माछा, मौरी, कफी, ताजा तरकारी, जैविक विविधता, दुग्धजन्य पदार्थ लगायतको बिक्री एवम् प्रदर्शनी, फुड फेस्टिभल, अटोमोवाइल प्रदर्शनी, शैक्षिक प्रदर्शनीहरु, विद्यालयस्तरीय खुला चित्रकला प्रदर्शनी, बाल उद्यान, खाना महोत्सव, उत्कृष्ट स्टल पुरस्कार लगायत महोत्सवका आर्कषणमा रहेको आयोजकको भनाइ छ । महोत्सव स्थलमा शान्तिका दूत बुद्धको प्रतिमा निर्माण गरिएको छ । जुन दर्शकको आकर्षणको केन्द्र बन्ने आयोजकले बताएको छ ।
महोत्सवको मुख्य आर्कषणमा सुगम संगीततर्फ पप कन्सर्ट र लाइभ व्यान्डको प्रस्तुति रहने संघकी महासचिव तथा महोत्सव प्रचारप्रसार उपसमिति संयोजक जानुका पराजुली अधिकारीले बताईन् । त्यस्तै, राष्ट्रियस्तरका चर्चित कलाकारहरुको लोकदोहोरी तथा हास्यव्यंग्य प्रस्तुति रहने उनको भनाई छ । उनका अनुसार लाईभ व्याण्डतर्फ मंगोलियन हर्टलगायतको प्रस्तुती रहनेछ भने पप कन्सर्टतर्फ प्रमोद खरेललगायतका कलाकारहरुको प्रस्तुती रहनेछन् ।
महोत्सवका सह–संयोजक एवम् प्रायोजक व्यवस्थापन उप–समिति परिचालन समितिका संयोजक राजेन्द्र ओझाले लेखनाथ महोत्सवलाई स्थानीयले चाड पर्वको रुपमा लिने गरेको बताए । उनले उत्पादक र उपभोक्ताहरुलाई एकै ठाँउमा भेला गरी आर्थिक चलायमान गराउन महोत्सवले महत्वपुर्ण भुमिका खेल्ने दाबी गरे ।
महोत्सव अवलोकनका लागि साधारणतर्फ एक सय रुपैयाँ टिकटदर तोकिएको छ । तर विद्यार्थीका लागि सहुलियत स्वरुप ६० रुपैयाँ तोकिएको महासचिव अधिकारीले जानकारी दिईन् । उनका अनुसार साँझको सुगम संगीत तथा लाईभ कन्सर्टका लागि भने ३ सय रुपैयाँ टिकटदर तोकिएको छ ।
महोत्सव २ लाख ५० हजार दर्शकले अवलोकन गर्ने आयोजकको दाबी छ । महोत्सवमा कुल ९ करोड आर्थिक कारोबार हुने लेखनाथ उद्योग वाणिज्य संघले प्रक्षेपण गरेको छ । महोत्सवमा ८० लाख खर्च हुने अनुमान गरिएको संघका अध्यक्ष विनोद श्रेष्ठले बताए । महोत्सवबाट ९० लाख आम्दानी गरी १० लाख बचत गर्ने लक्ष्य राखिएको उनको भनाई छ । महोत्सवबाट बचत रकम महोत्सव प्रदर्शनी स्थल, संघको भवन स्तरोन्नती, औद्योगिक क्षेत्र निर्माणका लागि पहल, कवि शिरोमणी लेखनाथ पौड्यालको जन्मस्थलको विकास, पर्यटनतर्फ बेगनासतालमा अवस्थित वराह मन्दिरको संरक्षण, कोशेली घर निर्माणलगायतका काममा खर्च गरिने उनले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सही नीति र विचारका आधारमा…







