ढुक्क भएर लगानी गर्न उद्योग मन्त्री भण्डारीको आग्रह


     एभरेस्ट आवाज    
     पौष २५ गते २०८१ मा प्रकाशित




पुस २५ चितवन । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योग क्षेत्रमा लगानी मैत्री वातावरण बनाउन सरकार तयार रहेको बताएका छन् ।

आजदेखि शुरु भएको १५ औँ चितवन महोत्सवको उद्घाटन गर्दै उनले कानुनमा रहेका समस्या समाधान गर्दै लगानीमैत्री वातावरण बनाउन लागेको बताए ।

उनले भने, “सरकार लगानी भित्र्याउन आवश्यक वातावरण बनाउन तयार छ । ढुक्क भएर लगानी गर्दा हुन्छ ।” विगतमा लगानी सम्मेलन भए पनि अपेक्षाकृत लगानी भित्र्याउन नसकिएको बताउँदै उनले आगामी लगानी सम्मेलनबाट उपलब्धि हासिल हुनसक्ने बताए । नीतिगत समस्या समाधान गरी अघि बढ्न सरकारले काम गरिरहेको उनको भनाई थियो ।

उनले विभिन्न समयमा हुने यस्ता मेला महोत्सवले देशको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने बताए । बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्ण सिलवालले उद्योगीको हकहितका लागि काम गर्न तयार रहेको बताए । उनले भने, “उद्योगीको समस्या समाधान गर्न प्रदेश सरकारले सहुलियतमा ऋण प्रदान गर्न बजेटबाटसमेत सम्बोधन गरेको छ ।”

सो अवसरमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले निजी क्षेत्रसँग सहकार्य गरेर गरिएका हरेक कार्यक्रम प्रभावकारी हुने गरेको उल्लेख गर्दै यस्ता मेला महोत्सवले जिल्लाको मात्रै नभएर समग्र देशको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने बताए ।

महोत्सव उद्योग वाणिज्य सङ्घ चितवनले आयोजना गरेको हो । महोत्सवका संयोजक एवं उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले आगामी माघ १० गतेसम्म सञ्चालन हुने महोत्सवमा पाँच लाख बढी दर्शकले अवलोकन गर्ने र रु १० करोड बराबरको कारोबार हुने अनुमान गरिएको जानकारी दिए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।