पोखरा । पोखरा विश्वविद्यालयले “लैङ्गिक सम्वेदनशीलता सम्बन्धी पाठ्यक्रम र शिक्षण विधि” विषयमा तेस्रो भर्चुअल कार्यशाला आयोजना गर्दै शिक्षा क्षेत्रमा लैङ्गिक समानताप्रति आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरेको छ। उक्त कार्यशाला २० मे २०२५ मा ईरास्मस+ को MAGENDA परियोजना अन्तर्गत सम्पन्न भएको हो। यो कार्यक्रम युरोपेली संघको नेतृत्वमा नेपाल, बंगलादेश र युरोपका दश साझेदार विश्वविद्यालयहरूको सहकार्यमा आयोजना गरिएको एक ठुलो पहलको भाग हो।
कार्यक्रमको उद्घाटन MAGENDA परियोजना संयोजक, सह प्रा. डा. नमराज धामीले गर्दै संस्थागत व्यवस्थापनमा लैङ्गिक समावेशी शिक्षण विधि समावेश गर्न रणनीतिक महत्व औंल्याए । बंगलादेश ओपन युनिभर्सिटी (BOU) द्वारा समन्वय गरिएको कार्यक्रममा पोखरा विश्वविद्यालयकी प्राध्यापक डा. दिपमाला श्रेष्ठले Gender-Inclusive Pedagogical (GIP) Framework प्रस्तुत गरिन् । उनले , “हाम्रो पाठ्यक्रममा लैङ्गिक तत्त्वहरू समावेश भए तापनि सीमित चेतना र कार्यान्वयनले रूपान्तरणात्मक परिवर्तनमा अवरोध पुर्याइरहेको बताइन् ।” डा श्रेष्ठको यो टिप्पणी बंगलादेशका डा. एम. मिजानूर रहमानले दिएको “बंगलादेशले लैङ्गिक संवेदनशील बजेटिङका कारण उल्लेखनीय प्रगति गरेको” अवलोकनको जवाफमा थियो ।
कार्यक्रममा पोखरा विश्वविद्यालयका प्रा. ऋषिकेश पाण्डेले सञ्चालन गर्दै “नेपालका उच्च शिक्षा संस्थाहरूमा पहिले नै लैङ्गिक र विकाससम्बन्धी कार्यक्रमहरू सञ्चालनमा छन्।” भनि बताए ।
बंगलादेशका शेरे-बङ्गला कृषि विश्वविद्यालयका प्रा. डा. मोहम्मद मिजानुल हक काजलले Gender Equality Plans (GEPs) को प्रभावकारी कार्यान्वयनका लागि प्रभावकारी रणनीतिहरू आवश्यक रहेको औंल्याए ।
कार्यक्रमको समापनमा बंगलादेश ओपन युनिभर्सिटीका MAGENDA परियोजना प्रबन्धक प्रा. डा. साबिनाले, “नेपाल र बंगलादेशका साझेदार विश्वविद्यालयहरूले साझा गरेका अनुभवहरू एशियाका लागि लैङ्गिक समानता योजनाको निर्माणमा महत्वपूर्ण हुने बताए ।” कार्यक्रममा BOU का संस्थागत गुणस्तर सुनिश्चितता सेल (IQAC) निर्देशक र MAGENDA अनुसन्धानकर्ता प्रा. डा. एम. सिराजुल इस्लाम पनि सहभागी थिए ।
यस कार्यक्रमले MAGENDA को मुख्य लक्ष्य, अर्थात् एशियामा दीगो लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यसँग मेल खाने काम गरिरहेको बताइएको छ।
कार्यक्रमले नेपालको शिक्षा क्षेत्रमा भएको महत्वपूर्ण प्रगतिहरूलाई प्रकाश पार्दै, बिद्यालय नेतृत्वमा महिलाको सहभागिता वृद्धि र लक्षित छात्रवृत्तिहरू मार्फत पहुँचमा सुधार भएको तर, पाठ्यपुस्तकहरूमा लैङ्गिक पूर्वाग्रह र ग्रामीण क्षेत्रका शिक्षकहरूको सीमित तालिमजस्ता चुनौतीहरू अझै बाँकी रहेको बताए ।
डा. नमराज धामी र नेपाल MAGENDA टोलीका सदस्यहरू—डा. ऋषिकेश पाण्डे, डा. मधुसूदन कायस्थ, श्री बुद्धिराज जोशी, डा. दिपमाला श्रेष्ठ, डा. पार्वती थापा तथा प्रशासनिक कर्मचारी सरला भट्ट—ले पाठ्यक्रम सुधार, शिक्षक तालिम र नीतिगत वकालतमार्फत शिक्षामा रहेका संरचनागत अवरोध र पूर्वाग्रह हटाउन एकजुट प्रयास गरिरहेका छन्। युरोपेली संघको सहयोगमा पोखरा विश्वविद्यालयले सबैका लागि समावेशी र न्यायपूर्ण शिक्षा प्रवर्द्धनमा अग्रणी भूमिका खेलिरहेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ ।…







