लेकसाईड र पृथ्वी होटल व्यवसायी समितिका नेताहरु : पर्यटन प्रवर्द्दनमा सहकार्य, एकतामा जोड


     एभरेस्ट आवाज    
     भाद्र २० गते २०८२ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, भदौ २०

पोखराका पर्यटन सम्बद्द दुई समितीका नेताहरुले पर्यटन प्रवद्र्दनमा सहकार्य गर्नुपर्नेमा जोड दिएका छन् । यसअघि छुट्टाछुट्टै योजना, कार्यक्रम र प्रवद्र्दन कार्यक्रम गर्दै आएका लेकसाईडका होटल व्यवसायीहरुको छाता संस्था होटल संघ पोखरा र पोखराका सिटी क्षेत्रका होटलहरुको छाता संस्था पृथ्वी होटल व्यवसायी समितिका नेतृत्वले पर्यटन प्रवद्र्दनमा सहकार्य गर्ने प्रतिबद्दता जनाएका हुन् । पृथ्वी होटल व्यवसायी समितिको १३ औं साधारणसभा तथा सातौ अधिवेशनको उद्घाटन शत्रमा बोल्दै उनीहरुले आपसी सहकार्य र एकतामासमेत जोड दिए ।

कार्यक्रममा बोल्दै पोखरा भ्रमण वर्ष–२०२५ कार्यसम्पादन समितिका संयोजक गोपीबहादुर भट्टराईले पृथ्वीचोकलाई ब्राण्डिङ गर्न सके पर्यटकलाई आकर्षित गर्न सकिने बताए । बसपार्क बिना पृथ्वीचोकको भविष्य अन्यौल छ,उनले भने,‘त्यसैले पहिले बसपार्क बन्नुप¥यो, त्यसका लागि सबैले दवाब दिऔं ।’ उनले पृथ्वीचोकमा पर्यटक आकर्षित गर्न पोखरा सभागृह बनाईनुपर्ने बताए । तर त्यो बनाउनेतर्फ कसैको पनि ध्यान नपुगेको बताउँदै उनले भने,‘सभागृह बनेको खोई ? ईभेन्ट खोई ? स्ट्रिट लाईट र सिसी क्यामरा खोई ? यी सबै बनाएर ब्राण्ड बनाउनु प¥यो तर हामी आफै ब्राण्ड घटाईरहेका छौं ।’

होटल व्यवसायी महासंघ, गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखालले यो वा त्यो ठाउँ र समिति भनेर छुट्याईरहन नहुने बताए । सबै समितिको उद्देश्य पर्यटन प्रवद्र्दन भएकाले मिलेर अगाडि बढ्नुको विकल्प नभएको उनको भनाई थियो । हिजो ठमेलबाट लेकसाईडले आश गथ्र्यो,उनले भने,‘आज लेकसाईड पर्यटनको केन्द्र बनेको छ, अब लेकसाईडबाट पृथ्वीचोक, रुपा, बेगनास, बागलुङ, गोरखालगायतले आश गरेको छ । त्यसैले लेकसाईडले ती ठाउँहरुको अभिभावकत्व लिनुपर्छ ।’

पृथ्वी होटल व्यवसायी समितिका अध्यक्ष अम्विकाप्रसाद घिमिरे (अमृत)ले पर्यटनको राजधानी पोखरा भएपनि ठाउँ विशेषलाई प्राथमिकता दिदा सिटीका होटल ओझेलमा परेको गुनासो गरे । पर्यटनका अग्रणी संस्थाले मात्र होईन, स्वयम् राज्यले पनि हामीलाई उपेक्षा गरेर कुनै ठाउँ विशेषलाई प्राथमिकता दिईरह्यो,उनले भने,‘हामीले त्यस्ता प्रवृत्तिसँग जुधेर केहि कम गरेका छौं । तर अझै पनि केहि अंश बाँकी छ ।’ उनले सबै पर्यटकीय क्षेत्रलाई उत्तिकै व्यवहार गरिनुपर्ने बताए ।

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पृथ्वी होटल व्यवसायी समिति र होटल संघ पोखरालाई दुस्मन र प्रतिष्पर्धी देखाएर भ्रम फैलाईरहेको गुनासो गरे । त्यस्तो दुस्मनी दुई संस्थाबीच नरहेको र भए पुष्ट्याईं गर्न चुनौति दिदै उनले भने,‘हामी दुस्मन र प्रतिष्पर्धी संस्था हो भन्नु भ्रम हो, बरु हामी एउटै बाआमाका दुई छोराहरु हौं ।’ पर्यटनमा कुनै पर्खाल नभएकाले जसले प्रवद्र्दन गरे पनि त्यसको फाईदा सबैले लिइरहेको उनको दाबी थियो । हामी ‘जाऔं है पोखरा’ सञ्चालन गर्छौं, तर पर्यटक आउँदा लेकसाईडमा मात्रै बस्दैनन् । अनि पृथ्वी होटल व्यवसायी समितिले ‘घुमौं पोखरा, जोगाऔं संस्कृति’ अभियान चलाउनुहुन्छ, तर पर्यटक आउँदा पृथ्वीचोकमा मात्रै बस्दैनन्, लेकसाईडमा पनि आउँछन् ।’

पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतमले स्थान विशेषका आधारमा विभेद हुनु विडम्वना भएको बताईन् । संघ समग्र पोखराको विकास र समृद्दिका लागि लागिरहेको बताउँदै उनले भनिन्,‘पर्यटनको विकास र प्रवद्र्दनमा सबैलाई समान महत्व दिईयोस् । कसैलाई काखा र पाखा नगरियोस् ।’

नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले पर्यटकीय राजधानी पोखरामा पर्यटकलाई आकर्षित गर्ने हो भने सेवाको गुणस्तरियतामा ध्यान दिनुपर्ने बताए । त्यसका लागि पर्यटन वोर्डले दक्ष जनशक्ति उत्पादनदेखि प्रवद्र्दन सम्ममा सघाउने प्रतिबद्दता जनाए ।

पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले लेकसाईड र बसपार्कका व्यवसायीको स्वार्थ पर्यटनको विकास र प्रवद्र्दन गर्ने नै भए पनि आपसी सहकार्य नहुनुको कारणबारे जिज्ञासा राखे । आखिर तपाईंहरुको स्वार्थ एउटै भए एकै ठाउँ बस्न के ले रोक्यो,उनले भने,‘अहिले समग्र ग्रेटर पोखराको कुरा उठिरहेको छ । लेकसाईड र पृथ्वीचोकको मात्र होईन, रुपा, बेगनाससम्मको विकास र प्रवद्र्दनमा सहकार्य आवश्यक छ ।’

पोखरा च्याम्बर अफ कमर्स कास्कीका अध्यक्ष उमराज बास्तोलाले पर्यटनको विकासमा सहकार्य अपरिहार्य भएको बताए । त्यसका लागि च्याम्बरले पनि सघाउने उनको भनाई थियो ।

कार्यक्रममा पृथ्वी होटल व्यवसायी समितिका बरिष्ठ उपाध्यक्ष मोतीबहादुर श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।