पोखरा–मुग्लिन सडकको पश्चिम खण्ड पोखरा–जामुनेको निर्माण यसै आ.वभित्र सक्ने लक्ष्य लिइएको छ ।
हालसम्म उक्त सडकको भौतिक प्रगति ५९ दशमलव ७६ र वित्तीय प्रगति ४७ दशमलव ८० प्रतिशत पुगेको आयोजना कार्यालयले जनाएको छ । कुल ३८ दशमलव ८८ किमि दुरीको उक्त खण्डमा हालसम्म ३७दशमलव ४ किमिमा एकतर्फी पहिलो तहको कालोपत्र भइसकेको उक्त खण्डका प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवरले बताए । उनका अनुसार २९ दशमलव ६१ किमिमा दुईतर्फी चार लेन र ७ दशमलव ७९ किमि सडकमा एकतर्फी दुई लेन कालोपत्र भइसकेको छ ।
१८ दशमलव ३ किमी दुई लेनमा दोस्रो तहको अस्फाल्ट कालोपत्र सम्पन्न भएको इन्जिनियर कुँवरले जानकारी दिए । यस्तै दुई किमीमा सर्विस लेन कालोपत्र गरिएको उहाँको भनाइ छ । कास्कीको विजयपुर पुल, डाँडाको नाक र मौरीभिरमा गरी कुल १०८० मिटरमा एकतर्फी पहिलो तहको कालोपत्र गर्न बाँकी रहेको जनाइएको छ । चालु आव सुरू भएयता ३ दशमलव २३ किमी चार लेनमा प्रथम तहको कालोपत्र र १४ किमी दुई लेनमा दोस्रो तहको अस्फाल्ट कालोपत्र गरिएको हो ।सोही अवधिमा दुईवटा कल्भर्ट निर्माण सकिएको आयोजना कार्यालयले जनाएको छ ।
“सडक विस्तार, नाली, कल्भर्ट निर्माणलगायत अधिकांश काम सकिएको छ”, उनले भने, “चालु आवभित्र सडक निर्माण सकिन्छ, निर्माण कम्पनीले पनि पछिल्लो समय कामलाई गति दिएको छ ।” विसं २०७८ भदौदेखि निर्माण सुरु गरिएको उक्त खण्डको ठेक्का म्याद आगामी पुससम्म रहेको छ । निर्माण कम्पनीले समयमा काम नगरेपछि यसअघि दुईपटकसम्म म्याद थप भएको इन्जिनियर कुँवरले बताए । चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले उक्त खण्डमा सडक विस्तार एवं स्तरोन्नतिको काम गरिरहेको हो । तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्मको आधा सडक छ लेन र आधाजति चार लेनको बन्ने इन्जिनियर कुँवरले बताए । पश्चिम खण्डमा पर्ने १३ वटा पुलमध्ये ११ पुल बनिसकेको र दुई पुल निर्माणाधीन अवस्थामा रहेको उनले जानकारी दिए ।
उक्त खण्डमा पर्ने एक सय पाँचवटै कल्भर्ट निर्माण भइसकेका उनको भनाइ छ । तनहुँको म्याग्देखोला, कुम्लेखोला, ठाडेखोला, सम्धीखोला, मूलखोला, फेदीखोला–१, फेदीखोला–२, रुदीखोला, हलेदीखोला, कालीखोला र कास्कीको कोत्रेखोलामा पुल निर्माण सकिएको हो । सडक ठेक्काअन्तर्गत कास्कीको विजयपुर र पुल ठेक्काअन्तर्गत सेती पुल निर्माणको चरणमा छ । ५० वर्षअघि बनेको पृथ्वी राजमार्गअन्तर्गतको उक्त सडक एसियाली विकास बैङ्कको ऋण सहयोगमा विस्तार तथा स्तरोन्नतिको काम भइरहेको हो ।
गण्डकी प्रदेशको लाइफलाइनका रुपमा रहेको उक्त सडकको पूर्वी खण्ड जामुने–मुग्लिनको निर्माण भने अन्तिम चरणमा पुगेको छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपाल परिवार नियोजन संघ कास्कीले यांैन तथा प्रजनन् स्वास्थ्य र परिवार नियोजनका…






