वैशाखयता चार हजार ६०० विपद्जन्य घटना


     एभरेस्ट आवाज    
     कार्तिक १६ गते २०८२ मा प्रकाशित




यो वर्षको कात्तिक १५ गतेसम्म देशभर चार हजार ५९७ वटा विपद्जन्य घटना भएका छन् । वैशाखयताका ती विपद्का घटनामा परेर शनिबारसम्म तीन सय ३५ जनाको मृत्यु भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार उक्त अवधिमा ४१ जना बेपत्ता भएका छन् भने एक हजार २६४ जना घाइते भएका छन् । बाढीका मात्रै तीन सय १६ घटना हुँदा ३७ जनाको मृत्यु र २७ जना बेपत्ता भएका छन् । त्यसैगरी, पहिरोका पाँच सय ५० घटना हुँदा ६७ जनाको मृत्यु र चार जना बेपत्ता तथा चट्याङका तीन सय ५६ घटना हुँदा ४४ जनाको मृत्यु, सर्पदंशका पाँच सय ३८ घटना हुँदा ९२ जनाको मृत्यु भएको छ ।

त्यसैगरी, जनावरको आक्रमणका दुई सय ६९ घटनामा २५ जनाको मृत्यु र एक बेपत्ता, लेक लागेका ८० घटनामा २७ जनाको मृत्यु भएको छ । भारी वर्षाका चार सय २० घटनामा सात, आगलागीका एक हजार ६१४ घटनामा २६ र हुरीबतासका दुई सय ८६ घटनामा आठ जनाको मृत्यु भएको प्रवक्ता महतले जानकारी दिए।

हिउँ पहिरोमा परी नौ जना बेपत्ता भएको प्राधिकरणले जनाएको छ । शनिबार मात्रै विभिन्न विपद्जन्य घटनामा दुई जनाको मृत्यु भएको छ । विपदजन्य ४६ घटना भएको र उक्त विपद्ले ३१ जिल्ला प्रभावित बनाएको प्राधिकरणले जानकारी दिएको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।