मुस्ताङको कागबेनी–कोरला सडक अन्तर्गत विभिन्न १० स्थानमा पहिरोले सडक अवरुद्ध भएको छ ।
बिहीबार रातिदेखि परेको निरन्तर वर्षाका कारण सो सडकका विभिन्न स्थानमा लेदोसहितको बाढीले सडक संरचनामा क्षति पुगेको हो । कोरला सडकको कागबेनीदेखि छुसाङ खण्डसम्मको सडकमार्गका प्रत्येक खोल्लाखोल्सीमा लेदोसहितको बाढीले सडक संरचना क्षतविक्षत भएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए । उनले उपकरण प्रयोग गरी सडक खुलाउन पहल सुरु भए पनि तत्काल सडक सञ्चालन नहुने बताए । उनका अनुसार ती स्थानमा सडक संरचना सहित वर्षाले सञ्चार सेवा समेत प्रभावित बनेको छ । कागबेनीदेखि वारागुङ मुक्तिक्षेत्र–३ स्थित चैलेसम्मको दूरीमा पर्ने दर्जनौैँ स्थानमा सडक माथिबाट लेदोसहितको पहिरो खसेर शुक्रबार बिहानदेखि नै सडक अवरुद्ध भएको थियो ।
राष्ट्रिय गौरवको कागबेनी–कोरला सडकखण्डअन्तर्गत कागबेनीदेखि ताङ्वेसम्मको दूरीमा लेदोसहितको बाढीले झन्डै ५० मिटर सडक भासिएर सडक संरचना पूरै ध्वस्त हुन पुगेको वारागुङ मुक्तिक्षेत्रका वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिए । उनका अनुसार कागबेनी–ताङ्वे सडकखण्डमा चार स्थानभन्दा बढी सडक अवरुद्ध छ ।
त्यसैगरी, कोरला सडकको ताङ्वेदेखि छुसाङखण्डमा विभिन्न स्थानमा अविरल वर्षाले सडक संरचनामा क्षति पुगेको बताइएको छ । ताङ्वेदेखि छुसाङ खण्डको ताङ्वे खोलामा लेदोसहितको बाढीले सडक संरचना पूरै बगाएको छ । यस्तै, वर्षाका कारण वारागुङ मुक्तिक्षेत्रस्थित मुस्ताङ गेडमाथिको चैलै सडकमा करिब ३५ मिटर बढी सडक पहिरोका कारण ध्वस्त भएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले कागबेनी–कोरला सडक अवरुद्ध रहेकाले तत्काल त्यसतर्फ यात्रा नगर्न अनुरोध गरेको छ ।
जोमसोम–कागबेनी सडक २४ घण्टापछि सञ्चालनमा आएसँगै मुक्तिनाथ दर्शन गर्ने दर्शनार्थीहरूका लागि सहज भएको जनाइएको छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, बैशाख १९ पोखरामा जारी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि…






