बसाइँसराइले म्याग्दीमा घटे मतदाता


     एभरेस्ट आवाज    
     कार्तिक १७ गते २०८२ मा प्रकाशित




Myagdi Beni Bazar tour is widely famous Pilgrimage spot of Nepal. Background contain beautiful greeny landscape with city.

म्याग्दीमा पछिल्लो तीन वर्षको अवधिमा मतदाताको सङ्ख्या घटेको छ ।

विसं २०७९ मा भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा ८६ हजार १२० जना मतदाता रहेको म्याग्दीमा निर्वाचन आयोगले पछिल्लो पटक असोज ८ गते सार्वजनिक गरेको मतदाता नामावली विवरणअनुसार ८४ हजार ५२० जना कायम भएको छ । जिल्ला निर्वाचन कार्यालय, म्याग्दीका सूचना अधिकारी गोविन्द थापाका अनुसार अघिल्लो निर्वाचनको तुलनामा एक हजार छ सय जना मतदाता सङ्ख्या घटेको हो । ४१ हजार १७४ जना पुरुष, ४३ हजार ३४५ महिला र एक जना अन्य छन् । मृत्यु भएकाको नामावली हटाएको, दोहोरो परेकाको एक ठाउँमा कायम गरेको र बसाइँसराई गरेर गएकाको स्थानान्तरण गरिएकाले मतदाता घटेका सूचना अधिकारी थापाले बताए ।

यसैगरी म्याग्दीमा पछिल्लो एक महिनाको अवधिमा २३९ जना नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगले गत असोज १० गतेदेखि मतदाता नामावली दर्ताको व्यवस्था मिलाएको थियो । विदेशबाट फर्किएका, नयाँ नागरिकता लिएकाहरूले मतदाता नामावली दर्ता गर्न आइरहेका जिल्ला निर्वाचन अधिकारी बिमलप्रसाद गौतमले जानकारी दिए । आगामी फागुन २१ गते घोषणा भएको निर्वाचनका लागि मतदाता नामावली दर्ता, अद्यावधिकसँगै मतदानस्थलको अवस्था अध्ययन थालेको उनले बताए । यसअघि मतदानस्थल रहेको ठाउँमा विपद्ले क्षति पुगेको र अन्य कारणले स्थानान्तरण तथा गाभ्नुपर्ने भएमा सोको विवरण पठाउन स्थानीय तहलाई निर्वाचन कार्यालयले पत्राचार गरेको छ ।

अघिल्लो निर्वाचनमा म्याग्दीमा ८२ वटा मतदानस्थलमा ११९ मतदान केन्द्र र जिल्ला कारागारमा एक वटा अस्थायी मतदान केन्द्र थिए । प्रतिनिधिसभामा एकवटा निर्वाचन क्षेत्र रहेको म्याग्दीका छ वटा स्थानीय तहमा ४५ वटा वडा छन् । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।