एभरेस्ट एफएमको बृहद रक्तदान कार्यक्रम मंसिर ६ गते हुने


     एभरेस्ट आवाज    
     कार्तिक १८ गते २०८२ मा प्रकाशित




फाइल तस्विर

पोखरा, कात्तिक १८

पोखराबाट प्रशारण हुने एभरेस्ट एफएम ९३ मेगाहर्जको आयोजनामा मंसिर पहिलो हप्ता रक्तदान कार्यक्रम आयोजना हुने भएको छ । एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएम र एभरेस्ट आवाज डटकमको संयुक्त आयोजनामा आगामी मंसिर ६ गते शनिबार रक्तदान कार्यक्रम हुन लागेको हो ।

मिडिया हाउसले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ । त्यसको निरन्तरता स्वरुप मिडिया हाउसले यस वर्ष मंसिर ६ गते शनिबार पोखरा–५ प्रस्याङस्थित रेडियोको प्राङ्गणमा रक्तदान कार्यक्रम गर्न लागेको सम्पादक दीपेन्द्र श्रेष्ठले जानकारी दिए । सो दिन हुने रक्तदान कार्यक्रम विहान ७ बजे शुरु भई मध्यान्ह १२ बजेसम्म सञ्चालन हुने उनले बताए ।

‘नियमित रक्तदान गरौं, जीवन बचाउने अभियानमा सहभागी बनौं’ भन्ने मूल नाराका साथ रक्तदान कार्यक्रम गर्न लागिएको श्रेष्ठले बताए । रक्तदान कार्यक्रम रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा हुने उनले जानकारी दिए । ‘एफएमले आफ्नो वार्षिक तालिका अनुसारै रक्तदान कार्यक्रम गर्न लागेको हो । चाडपर्वका कारण नियमित रक्तदान कार्यक्रम नहुँदा हुनसक्ने रगतको अभाव पूर्ती गर्नपनि यो कार्यक्रम सहयोगी हुनेछ भन्ने हाम्रो विश्वास हो’–उनले भने ।

रेडियोले ‘म त रक्तदान गर्दैछु, तपाईं नि ? भन्ने नारासहित रक्तदान कार्यक्रमको क्याम्पेनिङ गर्ने तयारी गरेको छ । १७ बर्ष उमेर पुगेका, ६५ बर्ष ननाघेका, ४५ केजी तौल भएका, अघिल्लो पटक रक्तदान गरेका ३ महिना अर्थात ९० दिन पूरा भएका, पिरियड र महिलाको हकमा मासिक रक्तश्राव भएको छैटौं दिन पुगेका, मेजर अपरेसन नगरेका, क्यान्सर, किड्नी ट्रान्स्प्लान्ट नगरेका, ब्लड प्रेसर नर्मल (औषधि खाइरहेको भए पनि बि पि ठिक छ भने दिन मिल्ने भएकाले ढुक्कले रक्तदान गर्न सक्ने रक्त संचार केन्द्र पोखराका प्राबिधिक प्रमुख अर्जुन ज्ञवालीले बताए ।

एभरेस्ट मिडिया हाउसले एभरेस्ट एफएम ९३ मेगाहर्ज र एभरेस्ट आवाज डटकम सञ्चालन गर्दै आएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।