गोरखाको पाङबारी हिमाल चढ्न गएका दुई आरोहीको शव फेला


     एभरेस्ट आवाज    
     कार्तिक १८ गते २०८२ मा प्रकाशित




गोरखास्थित पाङबारी हिमालमा विगत पाँच दिनदेखि बेपत्ता दुई इटालियन आरोहीको शव फेला परेको छ ।

पाङबारी हिमालको पहिलो शिविरमा इटालीका ६७ वर्षीय स्तेफानो फरिनातो र ३७ वर्षीय अलेस्सान्द्रो गापुटोको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । दुवै जनाको शव हिउँले पुरिएको अवस्थामा फेला परेको उनले बताए ।

आरोहीको शव हेलिकोप्टर मार्फत सामागाउँ ल्याइएको छ । पाङबारीे हिमालबाट फर्कने क्रममा तीन इटालियन नागरिक र एक नेपाली सहयोगी गत बुधबारदेखि पहिलो शिविर र आधार शिविरमा अलपत्र परेका थिए । फरिनातो र गापुटो हिमाल आरोहण गर्न नसकेपछि फर्कने क्रममा हिमपातका कारण अलपत्र परेका बताइएको छ । उनीहरुसँगै अलपत्र परेका इटालियन नागरिक ६५ वर्षीय भेल्टर परलिनोको भने गत आइतबार हेलिकोप्टरबाट उद्धार गरिएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए ।

उनको साथमा रहेका नेपाली नागरिक पेम्बा रेञ्जी शेर्पा, दावा छिरी शेर्पा र पासाङ तामाङको पनि सोही दिन हेलिकोप्टरबाट उद्धार गरी उपचारका काठमाडौँ पठाइएको उनले जानकारी दिए। रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।