पोखरामा नव निर्मित भैरव मन्दिरमा भैरवाष्टमीको दिनदेखि दर्शन/पूजन शुभारम्भ हुने


     एभरेस्ट आवाज    
     कार्तिक २० गते २०८२ मा प्रकाशित




पोखरा । पोखराको भैरबटोलमा नव निर्मित भैरव मन्दिरमा यही कार्तिक २६ गते (भैरवाष्टमीको दिन) दिउँसो २ बजेबाट दर्शन/पूजन शुभारम्भ हुने भएको छ ।
मन्दिरमा श्री कालभैरवको प्रस्तर प्रतिमा स्थापना गरी तान्त्रिक विधिबाट प्राण प्रतिष्ठा सम्पन्न गरिनेछ । सोही अवसरमा भैरवाष्टमीको दिन भक्तजन, दाता तथा समुदायका सबैलाई दर्शन/पूजनमा सहभागी हुन समितिले आह्वान गरेको छ ।
दर्शनार्थीहरूका लागि मन्दिर कार्तिक २७ गतेदेखि प्रत्येक दिन विहान ६ बजेदेखि मध्यान्ह १२ बजेसम्म खुला रहनेछ ।
भैरव साँस्कृतिक संरक्षण समितिले काठमाण्डौ उपत्यकाको प्राचीन नेवारी सभ्यता र संस्कृतिको पोखरामा संरक्षणका क्रममा मन्दिर निर्माणको पहल गरेको अध्यक्ष तीर्थमान प्रधानाङ्गले जानकारी दिनु भयो । समितिका अनुसार पोखरामा नेवार समुदायको आगमनसँगै उपत्यकाको सांस्कृतिक परम्परा—जस्तै गण नृत्य (बाह्र भैरव नृत्य), भजन तथा नेवारी अनुष्ठान—लाई निरन्तरता दिँदै आएको छ ।
समितिको २०७३ फागुन ७ गते सम्पन्न ४०औं साधारण सभाले भैरव नृत्यका प्रमुख पात्र कालभैरवको पूजा–आराधना गर्नका लागि मन्दिर निर्माणको निर्णय गरेको सचिब तीर्थ श्रेष्ठले बताउनु भयो । सोही निर्णयअनुसार २०७६ जेठ ३ गते पोखरा महानगरपालिकाका तत्कालीन प्रमुख मानबहादुर जिसीले मन्दिरको शिलान्यास गर्नु भएको थियो ।
कुल अनुमानित लागत रु. २ करोड ६ लाख ९१ हजार ८९५ रहेको मन्दिर निर्माणमा अहिलेसम्म रु. १ करोड ७० लाख ८८ हजार ६१५ खर्च भइसकेको समितिले जनाएको छ । मन्दिर निर्माणकालागि विभिन्न दाताहरूबाट नगद तथा जिन्सी सहयोग प्राप्त भएको जनाउदै समितिले सबै दाताप्रति हार्दिक आभार व्यक्त गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।