माछापुच्छ्रे गाउँपालिकाको पर्यटन प्रवद्र्धन गर्न अन्तरक्रिया, दृष्टिविहीन क्रिकेटर विनितालाई सम्मान


     एभरेस्ट आवाज    
     कार्तिक २३ गते २०८२ मा प्रकाशित




कास्कीको माछापुच्छ्रे गाउँपालिकाले यस क्षेत्रका महत्वपुर्ण सम्पदाको पर्यटन प्रर्वद्धनमा भुमिका खेल्न पत्रकारलाई आग्रह गरेको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजना तथा माछापुच्छ्रे गाउँपालिकाको समन्वयमा हेम्जाकोटमा आयोजित माछापुच्छ्रे गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा पत्रकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष मीनबहादुर गुरुङले यस क्षेत्र पर्यटकीय गन्तव्यको प्रचुर सम्भावना रहे पनि प्रचारप्रसार नहुँदा ओझेलमा परेको गुनासो गरे । विभिन्न पर्यटकीय गन्तव्यलाई व्यवस्थित बनाई नयाँ गन्तव्यको समेत खोजि भैरहेको बताउँदै, उनले विदेशी पर्यटकलाई आकर्षण गर्ने योजनामा गाउँपालिका अगाडी बढेको स्पष्ट पारे ।

त्यस्तै गाउँपालिका उपाध्यक्ष सिता अधिकारीले गाउँपालिकाको समग्र पर्यटन विकासका लागि आवश्यक सुझाव दिन आह्वान गरिन् । गाउँपालिकाकै प्रमुख प्रशासकीय अधिकृत केशव सुवेदीले गाउँपालिका पर्यटनको सम्भावना निकै रहेको र स्थानीय नागरिकले गाउँपालिकासँग गर्ने सहजीकरण निकै सह्रानीय रहेको बताए । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबि आस्था मगरले पत्रकार, पालिका र स्थानीयबीच भएको अन्तरक्रियाले समन्वय सुदृढ बनाई पर्यटन प्रवद्र्धनमा ठोस योगदान पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा हेम्जाकोट सामुदायिक होमस्टेका अध्यक्ष इश्वर गुरुङ, माछापुच्छ्रे गाउँपालिका वडा ५ का अध्यक्ष नारायण पौडल, वडा ६ का अध्यक्ष टेकनाथ गौतम, खेलकुद विकास समिति माछापुच्छ्रे गाउँपालिकाका सदस्य सचिव होमबहादुर गुरुङ, नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल लगायतले गाउँपालिकाभित्र रहेका पर्यटन सम्भावना र चुनौती विषयमा धारणा व्यक्त गरेका थिए ।

अन्तरक्रियामा पत्रकार र स्थानीयबाट उठेको प्रश्नको जवाफ गाउँपालिकाले दिएको थियो ।मञ्चका महासचिव परशुराम शर्माले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष राजाराम पौडेलले राखेका थिए । सोही अबसरमा नेपाली राष्ट्रिय दृष्टिविहीन क्रिकेट टोलीकी सदस्य विनिता पुनलाई शनिबार आफ्नै जन्मथलोमा नगदसहित सम्मान गरिएको छ । १२ देखि २३ नोभेम्बर २०२५ मा भारत र श्रीलङ्कामा पहिलोपटक आयोजना हुन लागेको टि–२० दृष्टिविहीन महिला विश्वकप क्रिकेट प्रतियोगिताका लागि नेपाली टोलीमा परेकी विनितालाई नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले माछापुच्छ्रे गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा पत्रकारको भूमिका विषयक अन्तरक्रियामा नगदसहित सम्मान गरेको हो । विनिता कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ घर भएकी अन्तर्राष्ट्रिय प्रतियोगितामा शतक प्रहार गर्ने पहिलो खेलाडी हुन् ।

उनलाई माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङ र खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्थाले संयुक्त रूपमा नगद सात हजार सात सय ७७ रुपैयाँसहित सम्मान गरेका हुन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।