न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम


     एभरेस्ट आवाज    
     कार्तिक २९ गते २०८२ मा प्रकाशित




लायन्स क्लब अफ पोखरा सिमलचौतारीद्वारा आयोजित वार्षिक पिस पोस्टर प्रतियोगितामा न्यु मोडेल सेकेन्डरी स्कुल, नागढुंगाकी छात्रा सुसम रानाभाटले प्रथम स्थान हासिल गरेकी छन् ।

विश्वव्यापी शान्ति र सहअस्तित्वको सन्देश फैलाउने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा पोखराका १५ वटा विद्यालयका विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो । आयोजकका अनुसार, विद्यार्थीहरूले शान्तिका विभिन्न आयामहरूलाई आआफ्नो सृजनात्मक शैलीमा प्रस्तुत गरेका थिए । लायन्स क्लब अफ पोखरा सिमलचौतारीका अध्यक्ष तथा विद्यालयका सहप्राचार्य पदम वस्ताकोटीले यस वर्षको शान्ति पोस्टर प्रतियोगिता ‘सँगसँगै मिलेर एक हौँ’ भन्ने मूल नारामा आधारित रहेको जानकारी दिए ।

उनले यस प्रतियोगितामार्फत् विद्यार्थीहरूमा विश्वमैत्री, सहिष्णुता र एकताको भावना जागृत गर्ने क्लबको उद्देश्य पुनः पुष्टि भएको बताए । वस्ताकोटीका अनुसार पिस पोस्टर प्रतियोगिता लायन्स इन्टरनेसनलको विश्वव्यापी अभियानको एक हिस्सा हो र यसबाट छनोट भएका उत्कृष्ट कलाकृतिहरूलाई प्रदेश तथा राष्ट्रिय तहसम्मको प्रतिस्पर्धाका लागि सिफारिस गरिनेछ ।प्रतियोगिताका निर्णायक कलाकार कृष्ण गुरुङले सुसम रानाभाटको चित्रकलाले शान्ति, सहकार्य र साझा यात्राको प्रतीकात्मक प्रस्तुतिलाई अत्यन्त प्रभावकारी ढङ्गले अभिव्यक्त गरेको बताए ।

उनका अनुसार सुसमले प्रयोग गरेको रङ्ग संयोजन, विषयको स्पष्टता र कलात्मक अभिव्यक्तिले अन्य प्रतिस्पर्धीहरूको तुलनामा भिन्न र उत्कृष्ट पहिचान स्थापित गरेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।