दुर्गा प्रसाईंलाई ४ दिनको म्याद थप,प्रहरी परिसर पूगेर मानव अधिकार आयोगको टोलीले लियो जानकारी


     एभरेस्ट आवाज    
     मंसिर २ गते २०८२ मा प्रकाशित




राष्ट्र, राष्ट्रियता, धर्म,संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं विरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसुरमा ४ दिन म्याद थप भएको छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले ४ दिनको म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।अब कम्तिमा पनि ४ दिन प्रसाईं प्रहरी हिरासत रहनेछन् ।म्याद थपका लागि प्रसाईंलाई मंगलबार जिल्ला सरकारी वकिलको कार्यालय हुँदै प्रशासन कार्यालय लगिएको थियो । सो क्रममा प्रसाईंले आफूलाई कुन मुद्दामा पक्राउ गरिएको भन्ने जानकारी नभएको बताएका थिए ।

प्रसाईंले यही मंसिर ७ गते देशभर आन्दोलन गर्ने बताउँदै आएका थिए । सोही अनुसार तयारी पनि तीव्र पारेका थिए । उनले सार्वजनिक शान्तिमा खलल पुग्ने गरी अभिव्यक्ति दिएको प्रहरीले बताएको छ ।प्रसाईँलाई पक्राउ गरेको विरोधमा उनका समर्थकले प्रशासन कार्यालय अगाडी नाराबाजी सहित प्रदर्शन गरेका थिए । राष्ट्रिय मानव अधिकार आयोगले प्रसाईं पक्राउ प्रकरणबारे अनुगमन गरेको छ ।आयोगको टोली मंगलबार भद्रकालीस्थित जिल्ला प्रहरी परिसरको कार्यालयमा पुगेर अभिव्यक्ति स्वतन्त्रता र शान्ति सुरक्षाको सवालमा सरकारलाई गम्भीर हुन आग्रह गरेको हो।

चुनावको घोषणा भइसकेको र राजनीतिक परिस्थिति संवेदनशील अवस्थामा पुगेको प्रसङ्गमा राज्यले शान्ति–सुरक्षा कायम राख्नुपर्नेमा आयोगले जोड दिएको छ। शान्ति–सुरक्षा कायम गर्नु केवल सरकार र सुरक्षा निकायको जिम्मेवारी मात्र नभई नागरिकको समेत कर्तव्य भएको आयोगले जनाएको छ।आयोगले विचार तथा अभिव्यक्तिको कारणले मात्र कसैलाई पक्राउ गर्नु मानव अधिकारविपरीत हुने उल्लेख गर्दै नेपाल सरकारलाई यस्तो कार्यप्रति गम्भीर हुन निर्देशन दिएको छ।

आयोगको टोलीले जिल्ला प्रहरी परिसर भद्रकाली पुगेर प्रसाईंसहित सम्बन्धित प्रहरी अधिकारीहरूसँग भेटघाट गरी विवरण संकलन गरेको छ।प्रसाईंलाई गएराति भक्तपुरको सानोठिमीस्थित निवासबाट पक्राउ गरी सार्वजनिक शान्ति–सुरक्षा विरुद्धको गतिविधि सम्बन्धी अनुसन्धानका लागि काठमाडौँ प्रहरी परिसरमा राखिएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।