पाशुपत क्षेत्रमा शतबीज छरियो,पोखराका बिभिन्न शिवालय परिसरमा भक्तजनको घुइँचो


     एभरेस्ट आवाज    
     मंसिर ३ गते २०८२ मा प्रकाशित




मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज पितृमोक्षको कामनाका साथ काठमाण्डौंकोपाशुपत क्षेत्रसहित देशभरकाशिवालय परिसरमा शतबीज छरिएको छ ।

यस दिन विधिपूर्वक शिवालय परिसरमा शतबीज छरे दिवङ्गत पितृले मोक्ष पाउने जनविश्वास छ ।‘चर्तुवर्ग–चिन्तामणि’अनुसार धानका सय दाना छर्ने विधि भए पनि कतिपयले मकै, गहुँ, हलेदो, जौ, कागुनोलगायत अन्न शतबीजका रूपमा छर्ने गरेका छन् ।मार्गशीर्ष कृष्ण त्रयोदशीको राति दिवङ्गत पितृको सद्गतिको कामना गर्दै महादीपदान गरेर शतबीज छरी अन्न खानुपर्ने मान्यता छ ।
आज बिहान पशुपति क्षेत्रको मृगस्थली, विश्वरुप, आर्यघाट, रुद्रगाडेश्वर, किरातेश्वर, गौरीघाट, गुह्येश्वरी, नवबुद्ध, बहिरो गणेशलगायत क्षेत्रमा शतबीज छर्नेको घुइँचो लागेको थियो ।पाशुपत क्षेत्रका साथै काठमाडौं उपत्यकाका गोकर्णेश्वर, डोलेश्वर, वसन्तपुरस्थित हनुमानढोका दरबार मक्खन महादेवस्थानमा पनि शतबीज छरिएको छ ।

पोखरा सहित आसपासका क्षेत्रमा रहेका शिव मन्दिरमा पनि धुमधामका साथ शतबीज छरिएको छ । पोखरामा भलामस्थित हरिहर गुफा मन्दिर, आर्वाको महाप्रभु धाम, घार्मीको ओमकारेश्वर महादेव मन्दिर,सदाशिव मन्दिर ढुंगेसाँघु,मासबारको पुश्करेश्वर शिव मन्दिर, लामाचौरको सुरथेश्वर, सन्तानेश्वर शिव मन्दिर, काउरेस्थित अम्मरेश्वर आश्रम, घार्मीखोलाको सर्वेश्वर शिवालय मन्दिर, हेम्जाको तिव्रीकोट लगायतका क्षेत्रमा बिहान सवेरै देखि भक्तजनको भीड लागेको थियो । ति ठाँउमा दिवङ्गत पितृको मोक्षको कामना सहित सतबीज छरिएको बताईएको छ ।

धार्मिक पर्यटकिय स्थल घार्मीमा बालाचतुर्दशी पर्व धुमधामका साथ मनाइएको छ । पोखरा महानगरपालिका वडा नं १९ घार्मीस्थित मणिमा रहेको ओमकारेश्वर महादेव मन्दिर परिसरमा सयौं भक्तजनको सहभागितामा सद्विज छरेर बालाचतुर्दशी पर्व मनाईएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ढुण्डिराज पौडेलले जानकारी दिए । विभिन्न ध्वजा पताका र तोरणले सजिएको मन्दिरमा सद्विज छर्न र दर्शनका लागि विहानै देखि भक्तजनको भीड लागेको थियो । रूद्री पुजा गरिसकेपछि मात्रै सद्विज छर्ने धार्मिक परम्परा भएपनि विहानैदेखि भक्तजनको भिड लागेको स्थानीय प्रेम बहादुर जिसीले जानकारी दिए । स्थानीय नारायण प्रसाद पौडेलको घरबाट विधिपूर्वक पूजा आजा गरि निकालिएको फुलको डोली बाजा गाजा र भजन किर्तन सहित विभिन्न भागको परिक्रमा गरी मन्दिर परिसरमा पुर्याइएको थियो । फुलको डोली निकाल्दा र बोक्दा मनले चिताएको इच्छा पूरा हुने जनविश्वास रहिआएको छ ।त्यस क्षेत्रमा सद्विज छर्न लामाचौर, बाटुलेचौर, हेम्जा, अर्मला,कुरेचौर,हरिपाउँ,पुरन्चौर लगायतका क्षेत्रबाट भक्तजन आउने गरेको होटल व्यवसायी हिमलाल पौडेल अभिशेकले बताए।सो धार्मिक मेलामा विश्व हिन्दु महासंघ पोखरा १९ , भुमे मैदान भजन समुह र स्थानीय युवाले दिनभर भजन किर्तन गरी सहभागी भक्तजनलाई मनोरञ्जन समेत दिएका थिए ।

स्थानीय आमा समूहले भक्तजनका लागि पानी तथा प्रसादको व्यवस्थापन गरेका थिए। पछिल्लो समयमा विभिन्न व्यक्ति, संघ संस्थाको सहयोगमा मन्दिरलाई व्यवस्थित र नियमित रूपमा पुजाआजा गरिएको समितिका कोषाध्यक्ष तेजेन्द्र पौडेलले जानकारी दिए ।शतबीज छर्नाले भगवान् शिवजी खुसी हुने र अर्को जुनीको लागि खेती हुने भएकाले यसको धार्मिक र शास्त्रीय महत्व रहेकोे पण्डित गुरुदत्त लामिछानेले बताए ।शतबीज छर्नाले मृतकले जीवित अवस्थामा गरेका सम्पूर्ण पाप नाश हुने जनविश्वाससमेत रहेको स्थानीय अनिता बराल पौडेलले बताईन् ।

यस्तै पर्वत, स्याङ्जा र कास्कीको सिमानामा पर्ने पञ्चासे धार्मिक क्षेत्रमा पनि बालाचतुर्दशी पर्व मनाईएको छ ।त्यस क्षेत्रमा शतबीज छर्न देशका बिभिन्न भागबाट भक्तजनहरु पुगेका थिए। म्याग्दीको गलेश्वर शिवालय मन्दिरमा बाला चतुर्दशी पर्वको अवसरमा शतबीज छर्न आएका भक्तजनहरुको घुइँचो लागेको छ । गए रातिदेखि नै शिवालय मन्दिरमा महाबत्ती र अखण्डबत्ती बालेर भजनकृतन गरेर जाग्राम बसेका भक्तजनहरुले बिहान कालीगण्डकी नदीमा स्नान गरेर शतबीज छरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले जानकारी दिए ।

बाला चतुर्दशी पर्वको अवसरमा गलेश्वरधाममा परम्परागत रुपमा शतबीज छर्ने मेला लाग्दै आएको छ । लमजुङ र तनहुँको सिमाना पर्ने पाउँदी र मस्र्याङ्दी नदिको सङ्गम,चितवनको माडीस्थित वैकुण्ठधाम, तनहुँ र चितवनको सिमानामा पर्ने प्रसिद्ध देवघाट, पाल्पा र स्याङ्जाको संगमस्थल राम्दी र सेतीवेणी लगायतका स्थानहरुमा मेला नै लागेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।