दमौली–केशवटार खण्ड चक्रपथका रूपमा विकास हुँदै


     एभरेस्ट आवाज    
     मंसिर ४ गते २०८२ मा प्रकाशित




तनहुँको सदरमुकाम दमौलीबाट १४ किलोमिटर दूरीमा पर्ने व्यास नगरपालिका–१४ केशवटार जाने मार्गलाई स्तरोन्नति गरी चक्रपथका रूपमा विकास गर्न थालिएको छ ।

गण्डकी प्रदेश सरकारबाट चालु आर्थिक वर्षमा नाला निर्माण, सडक विस्तार र कालोपत्रेका लागि रु तीन करोड ५० लाख बजेट विनियोजन भएपछि उक्त खण्डमा अहिले तीव्रताका साथ काम भइरहेको छ । दमौली–केशवटार, धरमपानी, बन्दीपुर हुँदै पृथ्वीराजमार्गको डुम्रे बजारसँग जोडेर चक्रपथका रूपमा विकास गर्न लालिगएको व्यास–१४ का कार्यवाहक वडाध्यक्ष दुर्गा आलेले जानकारी दिए । उनले भने, “यस खण्डमा पर्ने १४ किमीमध्ये हालसम्म सात किमी सडक कालोपत्र भइसकेको छ ।” उक्त विनियोजित बजेटले यस वर्ष एक किमी कालोपत्र गरेपछि छ किमी बाँकी रहने उनले बताए ।

सहरी पूर्वाधार विकास तथा शासकीय कार्यक्रमअन्र्तगत विश्व बैंकको रु छ करोड ऋण अनुदान व्यास नगरपालिकाबाट स्वीकृत भएर दोस्रो चरणका लागि प्रक्रिया अघि बढाइएको व्यासका योजना शाखा अधिकृत भेषराज तिवारीले जानकारी दिए । गण्डकी प्रदेश सरकारबाट रु एक करोड बजेट पुनः विनियोजन भएको जनाउँदै केशवटार मोटरमार्ग स्तरोन्नतिका लागि नगरले पटकपटक गरी हालसम्म करिब रु चार करोड बजेट विनियोजन गरिसकेको नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए ।

आदिवासी जनजातिको बाहुल्यता रहेको यस क्षेत्रमा घरबासका रूपमा पर्यटन प्रवर्द्धन कार्य हुँदै आएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।