माछापुच्छ्रे गाउँपालिका स्तरीय बाल संवाद कार्यक्रम सम्पन्न, गुनासा समाधान गर्ने पालिकाको प्रतिवद्धता


     एभरेस्ट आवाज    
     मंसिर १३ गते २०८२ मा प्रकाशित




पोखरा । गाउँपालिका स्तरीय “बाल संवाद कार्यक्रम” माछापुच्छ्रे गाउँपालिकामा सम्पन्न भएको छ। गुड नेवर्स इन्टरनेशनल नेपाल र नौलो घुम्ती नेपालको साझेदारीमा आयोजित कार्यक्रममा गाउँपालिकाभित्रका ३३ वटा विद्यालयका विद्यार्थी तथा शिक्षकहरूको उत्साहजनक सहभागिता रहेको थियो।

संवादका क्रममा विद्यार्थीहरूले विद्यालयमा भएका अछुतनियाँ असल अभ्यासदेखि लिएर भौतिक पूर्वाधार अभाव, शैक्षिक सामग्रीको कमी, विज्ञान तथा कम्प्युटर प्रयोगशालामा पहुँच नहुँने, महिनावारी कक्ष व्यवस्थापन चुनौती, कमजोर विद्यार्थीप्रति ध्यान नदिनेजस्ता समस्याहरू खुलेर प्रस्तुत गरेका थिए। मौखिक रूपमा व्यक्त गर्न नसकेका गुनासाहरू विद्यार्थीहरूले लिखित रूपमा समेत बुझाएका थिए।

कार्यक्रमको अध्यक्षता उपाध्यक्ष सीता अधिकारीले गर्नुभएको थियो भने प्रमुख अतिथिमा गाउँपालिका अध्यक्ष मिनबहादुर गुरुङ, विशेष अतिथिका रूपमा प्रमुख प्रशासकीय अधिकृत केशव सुवेदी उपस्थित रहनुभएको थियो।

उठेका मुद्दाबारे शिक्षा शाखा प्रमुख सम्झना पोखरेलले सम्बन्धित निकायसँग समन्वय गरी तत्काल समाधानका लागि पहल गर्ने प्रतिवद्धता जनाइन्। प्यानल डिस्कसनका क्रममा प्रमुख प्रशासकीय अधिकृत सुवेदीले धेरैजसो समस्या बजेटसँग प्रत्यक्ष जोडिने भएकाले आगामी नीति तथा कार्यक्रममा प्राथमिकताका साथ समावेश गरिने जानकारी दिए।

समापन सत्रमा प्रमुख अतिथि अध्यक्ष गुरुङले विद्यार्थीका माग तथा सुझावलाई आगामी आर्थिक वर्षको नीति तथा बजेटमा समेटी कार्यान्वयन गर्ने प्रतिबद्दता जनाउनुभयो।

गुड नेवर्स इन्टरनेशनल नेपालका कार्यक्रम अधिकृत भीम तामाङले बालमैत्री कार्यक्रम संचालनमा पालिकासँग सहकार्य गर्ने अवसर प्रदान गरेकोमा आभार व्यक्त गर्दै निरन्तर सहकार्यको तयारी रहेको बताए।

कार्यक्रमको उद्घोषण तथा सञ्चालन महिला तथा बालबालिका शाखा प्रमुख ज्योति पौडेलले गर्नुभएको थियो।

यस संवाद कार्यक्रमले विद्यार्थीहरूको आवाजलाई प्रत्यक्ष रूपमा नीति निर्माण तहमा पुर्‍याउने महत्वपूर्ण भूमिका खेल्ने तथा गाउँपालिकाभित्र विद्यालय शिक्षा सुधारमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।