पोखरामा दुईदिने पुस्तकालय व्यवस्थापन तालिम सम्पन्न


     एभरेस्ट आवाज    
     मंसिर २७ गते २०८२ मा प्रकाशित




पोखरा। गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान पोखराको आयोजनामा नेपाल पुस्तकालय सङ्घ, गण्डकी प्रदेशको संयोजनमा दुईदिने पुस्तकालय व्यवस्थापन तालिम सफलतापूर्वक सम्पन्न भएको छ।
पोखरा सार्वजनिक पुस्तकालय, नयाँबजार, पोखराको सभाहलमा सम्पन्न उक्त तालिममा गण्डकी प्रदेशभित्रका विभिन्न शैक्षिकसंस्थाहरु पोखरा विश्वविद्यालय, गण्डकी विश्वविद्यालय, गण्डकी बहुप्राविधिक विद्यालय, पश्चिमान्चल क्याम्पस, धवलागिरी बहुमुखी क्याम्पस लगायत विभिन्न कलेज र सामुदायिक तथा सार्वजनिक पुस्तकालयबाट ३० जना सहभागीहरूको उपस्थिति रहेको थियो जसमा नेपाल पुस्तकालय संघका सदस्यहरुको पनि उल्लेख्य उपस्थिति रहेको थियो ।
तालिमको उद्घाटन गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान, पोखराका कार्यकारी निर्देशक श्री सुरेन्द्र बाबु तिवारीले गर्नुभएको थियो। उद्घाटन कार्यक्रममा पोखरा सार्वजनिक पुस्तकालयका अध्यक्ष श्री अर्जुन श्रेष्ठले सार्वजनिक पुस्तकालयहरूको संरक्षण र प्रवर्द्धन गर्नु हामी सबैको दायित्व भएको कुरामा जोड दिनुभयो।
त्यसैगरी पोखरा विश्वविद्यालयका सह– डा. रबिन्द्र घिमिरेले तालिममा सिकेका ज्ञान र सीपहरूले दैनिक कार्य सहज, छिटो र प्रभावकारी रूपमा सम्पन्न गर्न सहयोग पुग्ने बताउनुभयो। यस्ता तालिमहरूले कर्मचारीहरूको वृत्ति विकास र कार्यसम्पादन क्षमतामा सकारात्मक प्रभाव पार्ने भएकाले तालिम अवधिभर प्रशिक्षक तथा सहजीकरणकर्ताले सिकाएका कुरामा ध्यानपूर्वक मनन् गर्नुपर्ने कुरामा उहाँले जोड दिनुभयो।
तालिममा पोखरा विश्वविद्यालयका सह– प्राध्यापक डा. रबिन्द्र घिमिरे, वन विज्ञान संस्थाका लाइब्रेरियन सूर्य क्षेत्री, पोखरा विश्वविद्यालयका लाइब्रेरियन तथा नेपाल पुस्तकालय सङ्घका अध्यक्ष मीन कुमारी डल्लाकोटी, पोखरा विश्वविद्यालयका लाइब्रेरियन दुर्गा प्रसाद आचार्य र पृथ्वीनारायण क्याम्पसका लाइब्रेरियन किशोर सुवेदीले सहजीकरण गर्नुभएको थियो। उक्त तालिमको संयोजन गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कर्मचारी सुवर्ण आचार्य तथा नेपाल पुस्तकालय संघ गण्डकी प्रदेशको तर्फबाट संघका सचिव भुवन ढकालले गर्नु भएको थियो ।
तालिमको समापन समारोहमा प्रमुख अतिथि गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. इन्द्रप्रसाद तिवारीबाट सम्पूर्ण प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । प्रा.डा. इन्द्रप्रसाद तिवारीले आगामी दिनमा यस्ता कार्यक्रमहरुमा गण्डकी विश्वबिद्यालयले पनि सक्दो सहयोग तथा सहकार्य गर्नेछ भन्दै तालीममा प्राप्त सिप र ज्ञानको भरमग्दुर प्रयोग गरी आफ्नो वृत्ति बिकास र ब्यक्तित्व बिकास गर्न तलिममा सहभागीहरुलाई शुभकामना दिनु भयो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।