सन्देश श्रेष्ठ
पोखरा, पुस ६
बागलुङमा लामो समयपछि डि-मर्चा गुञ्जिएको छ । स्थानिय प्रवुद्द युवा समूहको आयोजना तथा ग्रेस ईन्टरनेसनल एजुकेसन प्रालिको मुख्य प्रायोजनामा बागलुङको चिप्लेटी बसपार्कमा डि-मर्चा झण्डै एक दशकपछि गुञ्जिएको हो । जहाँ चिसोको वास्तासमेत नगरी दर्शक मध्यरातसम्म झुमेका थिए ।
बागलुङको चिसो मौषमलाई चुनौति दिदै कन्सर्ट हेर्न पुगेका दर्शकलाई डि-मर्चाले झण्डै डेढ घण्टा ततायो । करीब सवा नौं बजे स्टेज चढेको डिमर्चाले एक दर्जन गीत गाउँदा ताली र हुटिङ बारम्बार पायो । सँधैझैं ‘कैलाशैमा’ गीतबाट प्रस्तुती शुरु गरेको डिमर्चाले झ्याम्मै चौतारी, हिंडे मत हतारहतारमा, तारा खस्यौली, झ्याम्मझ्याम्म, जनताको समस्या, छ भने माया, यो डल्लीले हो मानिन जान, ठूली भेरी तरेरलगायतका एकसे एक हिट गीतहरु पस्किदा दर्शक नोस्टाल्जिक भए । र पटकपटक वान्समोरको हुटिङ घन्काईरहे । समयको पावन्दीले झ्याम्मझ्याम्म गीत गाएर करीब ११ बजे बिट मार्दासमेत दर्शक मैदान छाड्न मानिरहेका थिएनन् । दर्शकको अपार साथ र मायाले आफू प्रफूल्लित भएको डि-मर्चाका गायक भाष्करध्वज श्रेष्ठले बताए । उनले भने,‘बागलुङका दर्शकको यति धेरै साथ र मायाले अपार खुशी मिलेको छ । यसले डि-मर्चालाई थप उर्जा मिलेको छ ।’
बगलुङमा यति धेरै भद्र र शालिन दर्शक पहिलो पटक देखिएको नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य तथा बागलुङ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष युवराज राजभण्डारीले बताए । उनले भने,‘यस्तो अनुशासित, शालिन र भद्र दर्शक यसअघि कहिल्यै देखिएन, यो त अभूतपूर्व नै हो ।’
आयोजक प्रवुद्द युवा समूहका अध्यक्ष रोहित सुनारले कार्यक्रम भव्य भएको बताए । अहिलेको कार्यक्रम दर्शक संख्या र अनुशासनका हिसाबले ऐतिहासिक रह्यो,उनले भने,‘डिमर्चालाई माया गर्ने दर्शकका कारण सफलता मिलेको छ । यसले हामीले आगामी कार्यक्रम गर्न हौसला मिलेको छ ।’
डिमर्चाको प्रस्तुतीअघि बाबुकृष्ण परियार, सुरेश सुनार, दी हिल्स व्याण्ड तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार २०८२ बाट पत्रकार राम थापालाई सम्मान गरिने भएको…







