पोखरा । पोखरा महानगरपालिकाले कर संकलनका लागि प्रयोग गर्दै आएको SUTRA Revenue Model पटक–पटक अवरुद्ध हुँदा सेवाग्राहीले गम्भीर समस्या भोग्नुपरेको गुनासो छ। प्रणाली समय–समयमा नचल्दा कर तिर्न आएका नागरिक लामो समयसम्म प्रतिक्षा गर्न बाध्य हुने तथा कतिपय सेवाग्राही कर नतिरी फर्किनुपर्ने अवस्था सिर्जना भएको बताइएको छ।
पोखरा महानगरपालिका वडा नं. १३ का वडा अध्यक्ष किरण बरालले आइतबार प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल र बित्तिय महाशाखा प्रमुख जयराम पौडेललाई ज्ञापनपत्र बुझाउँदै राजश्व प्रणालीको बारम्बारको अवरोधले महानगरपालिकाप्रतिको नागरिक विश्वासमा नकारात्मक असर परेको उल्लेख गरेका छन्। व्यस्त जीवनशैलीका बाबजुद पनि राष्ट्रप्रति उत्तरदायी हुँदै कर तिर्न आएका सेवाग्राही पटक–पटक कार्यालय धाउन पर्नु दुःखद र चिन्ताजनक भएको उनको भनाइ छ।
वडा अध्यक्ष बरालले प्रविधिमा आधारित सेवा प्रवाहलाई सहज, छिटोछरितो र भरपर्दो बनाउने उद्देश्य विपरीत राजश्व प्रणाली अवरुद्ध हुनु चुनौतीको रूपमा देखिएको भन्दै प्रणालीलाई सरल, स्थायी र विश्वसनीय रूपमा सञ्चालन हुने व्यवस्था मिलाउन आग्रह गरेका छन्।
यसैबीच, सेवाग्राहीमैत्री, पारदर्शी र प्रभावकारी सेवा प्रवाह पोखरा महानगरपालिकाको पहिचान बन्नुपर्ने अपेक्षा व्यक्त गर्दै हाल पुष मसान्तसम्म भनिएको राजश्व छुटको समयावधि चैत मसान्तसम्म थप गर्नुपर्ने माग पनि ज्ञापनपत्रमार्फत गरिएको छ।
वडा अध्यक्ष बरालले कर तिर्ने वातावरण सहज बनाएर नागरिकको समय र विश्वास दुवै जोगाउन महानगरपालिकाले तत्काल प्रभावकारी पहल गर्नुपर्नेमा जोड दिएका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


बैशाख १९ पोखरा पोखराको लेकसाइडस्थित टेम्पल बेल बुटिक होटल एण्ड स्पाले विभिन्न…






