एकीकृत भूमिकर छुट चैत मसान्तसम्म बढाउन राजस्व परामर्श समितिको सिफारिस


     एभरेस्ट आवाज    
     पौष २३ गते २०८२ मा प्रकाशित




पोखरा । पोखरा महानगरपालिकाको राजश्व परामर्श समितिको मंगलबार बसेको बैठकले विद्यमान राजश्व संकलन प्रणाली SUTRA मा देखिएको निरन्तर सुस्तता र अवरोधका कारण कर संकलनमा उत्पन्न कठिनाइलाई ध्यानमा राख्दै एकीकृत भूमिकरमा दिइँदै आएको १० प्रतिशत सहुलियतको समयावधि चैत मसान्तसम्म थप गर्न सिफारिस गरेको छ।

यसअघि पौष मसान्तसम्म मात्र लागू हुने भनिएको सहुलियतलाई प्रणालीगत समस्याका कारण सेवाग्राहीले सहज रूपमा कर तिर्न नसकेको अवस्थालाई मध्यनजर गर्दै थप गर्नुपर्ने निष्कर्ष समितिले निकालेको समिति सदस्य पोखरा महानगरपालिका वडा नॅाबर १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले फेसबुक मार्फत जानकारी दिएका छन् ।

प्रणाली अवरुद्ध हुँदा नागरिक मारमा

पोखरा महानगरपालिकाले कर संकलनका लागि प्रयोग गर्दै आएको SUTRA Revenue Model पटक–पटक अवरुद्ध हुँदै आएको गुनासो लामो समयदेखि उठ्दै आएको थियो । प्रणाली नचल्दा कर तिर्न आएका सेवाग्राही घण्टौँसम्म प्रतिक्षा गर्न बाध्य हुने, कतिपय कर नतिरी फर्किनुपर्ने अवस्था सिर्जना भएको भन्दै नागरिक असन्तुष्टि बढेको थियो ।

पोखरा १३ का वडा अध्यक्ष बरालको पहलपछि विषयले गति लियो

यसअघि पोखरा महानगरपालिका वडा नं. १३ का वडा अध्यक्ष किरण बरालले प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल र वित्तीय महाशाखा प्रमुख जयराम पौडेललाई ज्ञापनपत्र बुझाउँदै राजश्व प्रणालीको बारम्बारको अवरोधले महानगरप्रतिको नागरिक विश्वासमा नकारात्मक असर परेको उल्लेख गर्दै पौष मसान्तसम्म भनिएको कर छुट चैत मसान्तसम्म थप गर्नुपर्ने माग समेत अघि सारेका थिए।

व्यस्त जीवनशैलीका बीच पनि उत्तरदायी भएर कर तिर्न आएका सेवाग्राहीलाई पटक–पटक कार्यालय धाउन बाध्य बनाउनु दुःखद र चिन्ताजनक भएको उनको भनाइ थियो। प्रविधिमा आधारित सेवा प्रवाह सहज, छरितो र भरपर्दो बनाउने लक्ष्य विपरीत प्रणाली अवरुद्ध हुनु गम्भीर चुनौती भएको भन्दै उनले प्रणालीलाई सरल, स्थायी र विश्वसनीय बनाइनुपर्ने माग गरेका थिए।

राजश्व परामर्श समितिको पछिल्लो सिफारिसलाई वडा अध्यक्षसहित करदाताहरूको मागप्रति सकारात्मक संकेतका रूपमा हेरिएको छ। अब उक्त सिफारिस कार्यान्वयनका लागि महानगरपालिकाको कार्यपालिका बैठकबाट निर्णय हुने अपेक्षा गरिएको छ।

नागरिकको समय र विश्वास दुवै जोगाउन SUTRA प्रणालीको तत्काल सुधार र स्थायी समाधान अपरिहार्य भएको सरोकारवालाहरूले औँल्याएका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।