पोखरा।गण्डकी प्रदेशका ब्युटिसियन महिलाहरूलाई आत्मविश्वास, नेतृत्व र व्यवसायिक प्रस्तुति सशक्त बनाउने उद्देश्यसहित वक्तृत्वकला सम्बन्धी तालिम सम्पन्न भएको छ। ‘आर्थिक समृद्धिका लागि सौन्दर्य पेशाः आजको आवश्यकता’ नाराका साथ ब्यूटीपार्लर एशोसिएशन गण्डकी प्रदेशको आयोजनामा भएको तालिममा गण्डकीका विभिन्न जिल्लाबाट ६० जना ब्युटिसियनहरूको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै एशोसिएशनकी अध्यक्ष बबिता केसी कार्कीले पेशागत दक्षता हुँदाहुँदै पनि प्रभावकारी बोल्ने कला नहुँदा व्यवसाय विस्तारमा चुनौती आउने गरेको उल्लेख गरिन्। उनले व्यवसायसँगै आत्मविश्वास र संचार कौशल बढाउने उद्देश्यले वक्तृत्वकला तालिम आयोजना गरिएको स्पष्ट पारिन्। कास्कीसहित बागलुङ, लमजुङ, गोर्खा, तनहुँ र नवलपुरबाट सहभागीहरूको उपस्थितिले तालिमलाई प्रदेशस्तरीय बनाएको बताइन्।
अध्यक्ष कार्कीले एशोसिएशनमा ७ सयभन्दा बढी सदस्य आबद्ध रहेको र अन्य व्यवसाय सरह कर तिर्दै आएको उल्लेख गर्दै सरकारले सहकार्य गरे सौन्दर्य पेशामा आबद्ध महिलाहरूको क्षमता अभिवृद्धिका लागि थप तालिमहरू सञ्चालन गर्न सकिने धारणा राखिन्।
तालिममा वाई सेन्टरका दिनकर नेपालले सहजीकरण गर्दै आत्मविश्वास, सार्वजनिक अभिव्यक्ति र नेतृत्व विकासका व्यावहारिक पक्षहरू प्रस्तुत गरेका थिए।
प्रमुख आतिथि नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष दीपेन्द्र श्रेष्ठले “आत्मविश्वास, पेसाप्रतिको इमान्दारी र अभिव्यक्ति शक्ति बिना कुनै पनि पेशा पूर्ण हुँदैन। सीपसँगै स्पष्ट बोल्ने क्षमता जोडिनु भनेको व्यवसायलाई नयाँ उचाइमा पुर्याउने आधार हो, र ब्युटिसियन महिलाहरूले यही आत्मबलमार्फत आफ्नै पहिचान र नेतृत्व निर्माण गर्न सक्छन्।” श्रेष्ठले “सौन्दर्य पेशा केवल सेवा होइन, आत्मनिर्भर अर्थतन्त्रको आधार हो। जब महिलाहरू आफ्नो काम र कुरालाई स्पष्ट रूपमा प्रस्तुत गर्न सक्छन्, तब उनीहरू ग्राहक मात्र होइन समाजको अभियन्ता पनि बन्न सक्छन्” भने ।
कार्यक्रममा एशोसिएशनकी संस्थापक अध्यक्ष रुपकला श्रेष्ठ, फेस डेरोना कम्पनीका मेनेजिङ डाइरेक्टर विकास केसी, पोखरा लेडी जेसिज–२०२६ की अध्यक्ष सुनिता गौतम भण्डारीलगायत वक्ताहरूले महिलाको आर्थिक सशक्तीकरणमा सौन्दर्य पेशाको भूमिकामाथि प्रकाश पारे।
कार्यक्रममा गण्डकी प्रदेश सदस्य तथा स्याङ्जा जिल्लाकी निवर्तमान अध्यक्ष पुष्पा अर्यालले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन महासचिव माया विश्वकर्माले गरेकी थिइन्।
तालिमले सौन्दर्य पेशामा आबद्ध महिलाहरूलाई आत्मविश्वासी, स्पष्ट वक्ता र व्यवसायिक रूपमा अझ सक्षम बनाउने विश्वास आयोजकले व्यक्त गरेका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार २०८२ बाट पत्रकार राम थापालाई सम्मान गरिने भएको…







