संस्कृत माविमा पत्रकार पौडेल सम्मानित


     एभरेस्ट आवाज    
     माघ ९ गते २०८२ मा प्रकाशित




पोखराका पत्रकार वासुदेव पौडेल सम्मानित भएका छन् ।

गण्डकी प्रदेशकै पुरानो विद्यालय संस्कृत माध्यमिक विद्यालयको १२५औँ अभिभावक दिवसका अवसरमा राष्ट्रिय समाचार समितिका गण्डकी प्रदेश कार्यालय प्रमुख समेत रहेका पत्रकार पौडेललाई दोसल्ला र सम्मानपत्रसहित पोखरा महानगरपालिका शिक्षा महाशाखाका निर्देशक हेमप्रसाद आचार्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद अधिकारीले संयुक्त रुपमा सम्मान गरे । पत्रकारिताका माध्यमबाट संस्कारसहितको शिक्षा, समाज, संस्कृति र जनसरोकारका विभिन्न विषयमा निर्भिक र निष्पक्ष रुपमा कलम चलाउँदै चेतनशील समाज निर्माणमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै उनलाई सम्मान गरिएको हो ।

पौडेलसँगै विद्यालयका पूर्वप्रधानाध्यापक दामोदर बास्तोला र पूर्वकार्यालय सहयोगी सूर्यबहादुर घर्तीलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा निर्देशक आचार्यले गण्डकी प्रदेशको ऐतिहासिक यस विद्यालयले पछिल्ला वर्षमा शैक्षिक गुणस्तरीयता बढाउँदै गएको भन्दै यसलाई महत्वपूर्ण शैक्षिक गन्तव्यका रुपमा स्थापित गर्नुपर्नेमा जोड दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद अधिकारीले विद्यालयको भौतिक विकाससँगै शैक्षिक गुणस्तरीयताका लागि निरन्तर प्रयास गरिएको बताए । विद्यालयले कक्षा ११ र १२ का कक्षा पनि सञ्चालन गरिरहेको जानकारी दिँदै उनले यसको दिगो सञ्चालनका लागि दरबन्दीको व्यवस्थापन जरुरी रहेको धारणा राखे।

पोखरा महानगरपालिका–१ का कार्यवाहक अध्यक्ष जुमकाजी गुरुङ, प्रधानाध्यापक श्रीकृष्ण सिग्देल, सहायक प्रधानाध्यापक कलादेवी बराल, माध्यमिक तहका इञ्चार्ज श्रीकान्त सापकोटा, सम्मानित व्यक्तित्वहरू पूर्वप्रधानाध्यापक बास्तोला, रासस गण्डकी प्रदेश प्रमुख पौडेललगायतले विद्यालयले यस क्षेत्रको संस्कृत शिक्षासँगै समग्र शिक्षाका क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।